भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि अवरुद्ध सुरुङ अन्ततः बुधबार दिउँसो पूर्ण रूपमा खोलिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले निरन्तरको प्रयासपछि बुधबार दिउँसो १ देखि २ बजेको समयमा सुरुङ खोलेर नेपाली सेनालाई हस्तान्तरण गरिएको जानकारी दिएका छन्।
करिब ११ दिनदेखि घटनास्थलमै खटिएका सांसद ढकालले सुरुङ खोल्नका लागि आफूले सांसद, इन्जिनियर तथा सामान्य नागरिकको हैसियतले सकेजति सबै प्रयास गरेको बताएका छन्।
उद्धारका क्रममा आफूले भारी बोक्नेदेखि मजदुरको लागिसम्म काम गरेको उनले उल्लेख गरेका छन्।
‘मैले आफूले सांसद, इन्जिनियर, नेपाली र सामान्य मानवको हिसाबले सकेजति पूरै प्रयास गरेँ, केही पनि कसर बाँकी राखिनँ। भारी बोक्नुपर्ने ठाउँमा बोकेँ, लेबर नै हुनुपर्ने ठाउँमा त्यो पनि भएँ,’ ढकालले भनेका छन्, ‘सुरुङ खोल्नै सकिँदैन कि भनेर धेरै पटक अत्यास लाग्यो, पटक-पटक स्तब्ध भयौं र थुप्रै उपाय लगाउँदा पनि असफल भयौं। तर अन्ततः आफैँले नेतृत्व गरेर यो कठिन काम पूरा गर्यौं।’
ढकालका अनुसार इन्जिनियरिङ क्षेत्रका उदय र श्रीरामसहित चिलिमे परिवारसँगको संयुक्त प्राविधिक प्रयासमा यो जटिल उद्धार सम्भव भएको हो।
सुरुङ खुलेपछि अहिले भित्र फेला परेका मृतकहरूको शव बाहिर ल्याउने कार्य भइरहेको र घटनाको विस्तृत विवरण नेपाली सेनाले सार्वजनिक गर्ने उनले जनाएका छन्।
उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, भारतीय सेना, चिलिमे कम्पनी परिवार, नेपाल विद्युत् प्राधिकरण तथा स्थानीय बासिन्दालाई उनले धन्यवाद दिएका छन्।
विपद्को यस घडीमा निकै पीडाबोध भएको उल्लेख गर्दै सांसद ढकालले ११ दिन लामो हिलोको लडाइँपछि आफू बुधबार वा बिहीबार बिहान चिलिमेबाट फर्किने बताएका छन्।