पोखरा, वैशाख ४ – गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पछिल्लो समय चर्किंदै गएको शिक्षक आन्दोलन र त्यससँग सम्बन्धित राजनीतिक अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमा लोकप्रियता खोज्ने शैलीमा राखिने उत्तेजक भनाइहरूले मुलुकलाई अस्थिरतातर्फ लैजान सक्ने खतरा औंल्याउँदै उनले संयमता र जिम्मेवार अभिव्यक्तिको आवश्यकता रहेको बताए।
“सार्वजनिक खपतका लागि व्यक्त गरिएका र लोक रिझ्याइमा रमण गरिएका मुद्दाहरू सरकारमा हुँदा पनि कार्यान्वयन गर्न सक्ने गरी बोल्न सक्नुपर्छ,” अधिकारीले भने, “अन्यथा सामाजिक सञ्जालमा भीओर त पक्कै बढ्लान, तर देशलाई जेलेन्स्की मोडलमा जान समय लाग्दैन।”
पूर्वमुख्यमन्त्री अधिकारीले शिक्षकहरूको आन्दोलनप्रति गहिरो चिन्ता व्यक्त गर्दै शिक्षाजस्तो संवेदनशील क्षेत्रमा चर्किएको असन्तोषले दीर्घकालीन असर पार्न सक्ने बताए। “गुरुहरू र गुरूमाहरू आज सडकमा हुनुहुन्छ, यो राष्ट्रका लागि चेतावनीको संकेत हो,” उनले भने, “अब सबै सरोकारवाला मिलेर समाधान खोज्नुको विकल्प छैन।”
उनले पछिल्लो समय प्रयोग भएका ‘सिंहदरवार जलाउँछौं’ जस्ता उत्तेजक नाराको आलोचना गर्दै यस्तो भाषा र शैलीले हिंसालाई प्रोत्साहन गर्न सक्ने चेतावनी दिए। “तीनकुनेमा के भयो भनेर हामीले बिर्सनु हुन्न,” अधिकारीले भने, “समस्या समाधानका लागि संयमता आवश्यक छ, आवेगले होइन विवेकले अघि बढ्नुपर्छ।”
उनले मुलुकको संवैधानिक प्रक्रिया, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण संवादको संस्कार जोगाउँदै अघि बढ्न सबै राजनीतिक दल, आन्दोलनरत पक्ष र सरकारलाई आह्वान गरे। “असहमति समाधानको ढोका हो, तर त्यसलाई हिंसाको बाटो बनाउनु आत्मघाती हुन्छ,” अधिकारीले भने।