राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सार्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा उच्च अदालतले थुनामा पठाएपछि महाधिवेशन हुने कि नहुनेमा अन्यौलता कायम भैरहेको अवस्थामा पार्टीको महाधिबेशन झन्डै एक वर्षपछि धकेलिएको छ। अब रास्वपाको महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने सर्वसम्मतले निर्णय भएको प्रबक्ता झाले बताए । त्यसअघि २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
यसैगरी आजकै बैठकले सातै वटा प्रदेशमा इन्चार्ज तोकेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो। कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार चयन भएका छन् भने मधेशको जिम्मेवारी मनिष झाले पाएका छन् । बाग्मतीको इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई तोकिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार नौसय ७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये सात सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। मुलुकभर रहेका सातसय ५३ पालिकामध्ये चार सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सातवटै प्रदेशमा समिति गठन भएको छ।