कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा पहिरो गएपछि शनिबारदेखि सडक अवरुद्ध छ। सधैँजसो पहिरोले अवरुद्ध भइरहने गगने खोलामा पानी पर्ने बित्तिकै पहिरो जाने समस्या विगतदेखिनै हो।
उक्त ठाउँको दीर्घकालीन समस्या नहुँदा सधैँ जसो बर्खायाममा पहिरोले समस्या पार्ने गरेको छ, गगने खोला क्षेत्रमा। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीका अनुसार, शनिबार ६ बजेतिर पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।
‘अविरल वर्षाको कारण लेदोसहितको पहिरो खसेको हो,’ खत्रीले भने, ‘वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या छ।’ उनका अनुसार यसअघि एउटा मेसिनले काम गरिरहेको थियो। यद्यपि त्यसले सम्भव नभएपछि पुनः अर्को मेसिन पठाइएको छ।
गगने खोलाको पहिरोका कारण शनिबार बेलुकादेखि माथिल्लो कर्णालीको यातायात सेवा ठप्प भएको छ। हुम्ला, जुम्ला, मुगु, कालिकोटदेखि सुर्खेततर्फ आउने सवारी साधन पहिरो प्रभावित क्षेत्र नजिक रोकिएका छन्। यस्तै सुर्खेतबाट माथिल्लो कर्णालीका लागि हिँडेका सवारी साधन दैलेखको राकम लगायतका क्षेत्रमा रोकिएका छन्।
प्रहरी नायव उपरीक्षक खत्रीले वर्षा केही कम भएपछि धमाधम काम भए आइतबार नै सडक खुलाउने गरी काम भइरहेको बताए।