घाइतेलाई भेटेपछि मन्त्री श्रेष्ठले भने : उहाँहरूलाई मानसिक परामर्श आवश्यक छ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन्।

आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्।

मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए।

उनकाअनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरी हौसला प्रदान गरेका थिए।

यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली १ बाट उद्धार गरिएका चिनियाँ नागरिकसँग पनि भेटे। स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए।

भेटपछि मन्त्री श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ। शारीरिक घाउ चोटहरू निको हुन थालेको छ। मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ।’

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्धारकर्मी सबैलाई धन्यवाद पनि दिए। ‘स्वास्थ्यकर्मीले पनि एकदमै राम्रोसँग रेखदेख गर्नुभएको छ’, उनले भने।

छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराए।