गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ ।
बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताउनु भयो । प्रदेश सरकारले पर्यटकीय राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा तिब्र गतिका साथा काम गरिरहेको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय प्रदेशमा रहेका मुक्तिनाथ, त्रिवेनीधाम,पञ्चकोटलगायत मठमन्दिरहरु विश्वभर परिचित हुन थालेकाले धार्मिक पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले आन्तरिक पर्यटकहरु पनि घरबाहिर निस्किएर कतै घुम्न जाउँ भन्दा पोखरा नै पहिलो रोजाइमा पर्ने दाबी गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेला मैदान निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले खेलमैदन निर्माण भएपछि विश्वभरका खेलाडीहरुलाई भ्रमणका लागि आकर्षित गर्ने गरी खेल पर्यटनको प्रवद्र्धन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश निश्चय पनि एउटा पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको प्रदेश नै हो । अहिले पनि नेपालमा आउने पर्यटकहरु विदेशी पर्यटकहरु काठमाडौं आइसके पछि काठमाडौं बाहिर कहाँ जाँने भन्दा पहिलो रोजाइ पोखरा हुन्छ । र स्वदेशी पर्यटकहरु पनि घरबाट बाहिर निस्केपछि कहाँ जाने भनेपछि पहिलो गन्तव्य पोखरा नै हुन्छ । अर्थात गण्डकी प्रदेशकै पर्यटकीय क्षेत्रहरु रोजाइमा परेको छ । त्यसैले हामीले गण्डकी प्रदेश क्षेत्रको पर्यटन विकासका लागि गत वर्ष पोखरालाई नेपालको पर्यटकीय राजधानी भनेर घोषणा गरेका छौँ । र पर्यटकीय राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको निर्माणतर्फ पनि गण्डकी प्रदेश सरकारले त्यसलाई प्रायोरिटी राखेर हामीले काम गरिरहेको अवस्था छ । चाहे धार्मिक क्षेत्रको पर्यटनलाई भन्नुस्, चाहे प्रकृतिले दिएको पर्यटकीय क्षेत्रहरुको हिसाबले गण्डकी प्रदेशको पोखरा र त्यसको वरपरका क्षेत्रहरु निकै सम्भावनायुक्त ठाउँहरु छन् । त्यतिमात्रै नभइकन अहिले हामीले धार्मिक पर्यटनलाई पनि पहिलो महत्वपूर्ण रुपमा पर्यटकलाई भित्र्याउने अर्थात पर्यटक गण्डकीमा ल्याउनका लागि धार्मिक पर्यटनलाई पनि अगाडि बढाउनुपर्छ भनेर हामीले त्यही अनुसार कार्यक्रमहरुलाई अगाडि बढाएको छौँ । किनकी हामीमध्ये यहाँ सबैले सुनेका छौँ कि मनकामनाको मन्दिर, बागलुङ कालीकाको मन्दिर, अहिले नयाँ स्थान आएको छ पञ्कोट, मुक्तिनाथ, त्रिवेनीधामलगायतका धार्मिक स्थलहरु छन् जो नेपालमा मात्र नभइ वि देशमा पनि परिचित छ, ति स्थलहरु पनि गण्डकी प्रदेश भित्रै पर्छन् । त्यसलाई पनि हामीले धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गरेर यी लगायत जहाँ सम्भावना छ त्यसलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा अगाडि बढाउँदै छौँ भने संसारकै हाइ अल्टिच्युटको खेल मैदान मुस्ताङमा बनाइ रहेका छौँ । त्यो खेल्नका लागि मात्रै होइन । त्यो हाइ अल्टिच्युट मैदानमा आएर कोही पनि संसार भरका खेलाडीले एक पटक त्यो खेलमैदानमा जाने इच्छा व्यक्त गरुन् र त्यहाँ पुग्ने संसारका खेलाडी र खेलको माध्यमबाट पनि प्रदेशलाई चिनाउन पर्छ भनेर त्यो क्षेत्रमा पनि कामहरु अगाडि बढाइ रहेका अवस्था छ ।’
मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि हुन सकेन भन्ने भाष्य निर्माण खोजिएको भन्दै २०४८ सालपछिका ३० वर्षमा भएका भौतिक पूर्वाधारका कामहरु अध्ययन गर्न सुझाव दिनुभयो । गाउँका जनतालाई उत्पादनमा जोडेर आर्थिक आर्जन गर्ने अवस्थामा पु¥याउन सके कोही पनि निरास हुन नपर्ने उहाँको भनाइ छ ।