भारतीय राजदूतद्वारा चिलिमे सुरुङ उद्धार निरीक्षण, प्राविधिक टोली १०० मिटरभित्र पुगेको दिए जानकारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतीय राजदूतद्वारा चिलिमे सुरुङ उद्धार निरीक्षण, प्राविधिक टोली १०० मिटरभित्र पुगेको दिए जानकारी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले त्यहाँ खटिएका भारतीय प्राविधिक टोली र नेपाली सेनाको संयुक्त प्रयासको प्रशंसा पनि गरे । बाढी वा पहिरोका कारण अवरुद्ध सुरुङ उत्खनन गरी उद्धार कार्यलाई तीव्रता दिन दुवै देशका टोलीहरू अहोरात्र खटिएका उनले लेखेका छन् ।

राजदूत श्रीवास्तवका अनुसार भारतीय प्राविधिक टोली विशेष उपकरणहरू प्रयोग गरी सुरुङभित्र करिब १०० मिटरको दूरीसम्म पहुँच पुर्‍याउन सफल भइसकेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र भित्रसम्म पुग्न अब ठुला तथा भारी मेसिनरी उपकरणहरू ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

निरीक्षणका क्रममा राजदूतले कार्यस्थलको भौगोलिक अवस्था निकै कठिन रहेको पनि उल्लेख गरेका छन् । ‘सुरुङभित्रको जमिन दलदलजस्तो र भौगोलिक बनावट निकै चुनौतीपूर्ण छ,’ उनले लेखेका छन्, ‘तर यति कठिन परिस्थितिमा पनि भारतीय र नेपाली टोलीहरू अविचलित भई आफ्नो काममा लागिपरेका छन् ।’

गत असोजमा आएको बाढी–पहिरोपछि चिलिमे जलविद्युत् आयोजनको संरचनामा क्षति पुगेको छ, जसको पुनर्स्थापना र उद्धारका लागि दुवै देशका सुरक्षा र प्राविधिक निकायहरू परिचालित छन् ।