पोखरा। पोखराका प्रख्यात कथावाचक पण्डित भास्कर कमलनयन गौतमकी ममतामयी आमा तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकी दिदी भगवती गौतमको अचानक ब्रेन हेमरेजका कारण निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार घरमा असहज महसुस हुनासाथ उहाँलाई १५ मिनेटभित्रै अस्पताल पुर्याएर शल्यक्रियासहित सम्भव सबै उपचार गरिए पनि बचाउन सकिएन। अभिभावकत्व प्रदान गर्ने व्यक्तित्वको अकालमै निधन भएपछि आचार्य र गौतम परिवार शोकमा डुबेको छ।
दिवङ्गत गौतमको पार्थिव शरीरलाई धार्मिक परम्पराअनुसार अन्तिम संस्कारपूर्वका दान, बैतरणी तथा पूजाका कार्यहरू सम्पन्न गरी आज बिहान ८:०० बजे पोखरा–१५, फलेपाटनस्थित निवासबाट सीताघाटतर्फ निकालिँदै छ।
अकल्पनीय पारिवारिक बज्रपातको यस घडीमा विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रका व्यक्तित्वहरूले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्