उपल्लो मुस्ताङमा हिमताल अनुगमन, तत्काल जोखिम नरहेको जानकारहरूको भनाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन्।

भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा तयारीलाई तीव्रता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो। ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र हाल जोखिम नदेखिएको उनले बताए।

अनुगमनको दोस्रो चरणमा लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ।

समुद्र सतहबाट करिब पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताए।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रको कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उनले बताए। ती क्षेत्रमा हिमताल रहेको जिपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उनको भनाइ छ।

गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा  बाढी आउन सक्ने सम्भावना ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ।

विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् तयारीलाई सुदृढ बनाइने भएको छ।