चीनको आर्थिक सुधार फेरि सुस्त, उपभोग र औद्योगिक उत्पादन दुवै भए कमजोर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चीनको आर्थिक सुधार फेरि सुस्त, उपभोग र औद्योगिक उत्पादन दुवै भए कमजोरयस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्रले लय गुमाएको छ । औद्योगिक उत्पादन र खुद्रा बिक्रीको वृद्धि अपेक्षाभन्दा कमजोर भएपछि अर्थतन्त्र कमजोर बनेको हो । यस्तोमा आन्तरिक माग बलियो बनाउन सरकारमाथि थप प्रोत्साहन प्याकेज ल्याउनुपर्ने दबाब बढेको छ ।

दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर साढे ३ वर्षयताकै न्यून स्तरमा झरेको थियो । यस्तोमा पछिल्लो तथ्यांकले घरेलु खपत र लगानीमा आएको कमीको भर्पाई गर्न चीन निरन्तर निर्यातमा निर्भर रहेको छर्लङ्ग पारेको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार जुलाईमा औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ४ दशमलव ५ प्रतिशतले मात्रै बढेको छ । जुनमा यसको वृद्धि ५.३ प्रतिशत थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरूले जुलाईमा वृद्धि ४ दशमलव ८ प्रतिशत हुने अनुमान गरेका थिए । ‘हातमा रहेका नीतिगत उपायहरूको प्रभावकारी प्रयोग गर्न नसक्दा आंशिक रूपमा प्रदर्शन खराब भएको हो । उदाहरणका लागि, वित्तीय खर्च पछाडि निकै परेको छ,’ इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री सु तियानचेनले भने । लगानीमा ध्यान दिनुपर्ने अनि यसमा आएको तीव्र कमी चीनलाई कुनै हालतमा स्वीकार्य नहुने पनि उनले बताए ।

चीनको अर्थतन्त्रका लागि अर्को चिन्ताको विषय स्थिर सम्पत्ति लगानी हो । २०२६ को पहिलो ७ महीनामा स्थिर–सम्पत्तिमा लगानी ६ दशमलव ७ प्रतिशतले खुम्चिएको छ । यसमा ६ प्रतिशतको मात्रै कमी आउने अपेक्षा गरिएको थियो । जनवरी–जुन अवधिमा यो ५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

खुद्रा बिक्रीको अवस्था झनै कमजोर देखिएको छ । जुलाईमा खुद्रा बिक्री शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको छ । जुनमा यो १ प्रतिशतले बढेको थियो । सो अवधिमा खुद विक्री १ दशमलव ५ प्रतिशतले बढ्ने विश्लेषकहरूको अनुमान थियो । गर्मी बिदाको समयमा पर्यटन खर्च बढे पनि उपभोक्ताको समग्र खर्च अपेक्षाअनुसार बढ्न नसकेको तथ्यांकले देखाएको छ । ‘यो कमी आंशिक रूपमा उपभोक्ता वस्तु व्यापार योजनाको प्रतिफल मात्र थियो, जसले एक वर्ष अघि मागलाई अगाडि ल्याएर बिक्री बढाएको थियो,’ क्यापिटल इकोनोमिक्सका चीन अर्थशास्त्र प्रमुख जुलियन इभान्स–प्रिचर्डले भने ।

घरजग्गा बजार अझै संकटमा

चीनको आर्थिक सुधारमा सबैभन्दा ठुलो अवरोधमध्ये एक घरजग्गा क्षेत्रको लामो संकट हो । जुलाईमा नयाँ घरको मूल्य अघिल्लो वर्षको तुलनामा ३ दशमलव २ प्रतिशत घटेको छ । जुनको तुलनामा यो शून्य दशमलव १ प्रतिशत कम हो । चिनियाँ परिवारको सम्पत्तिको ठुलो हिस्सा घरजग्गामा जोडिएको मानिन्छ । लामो समयदेखि जारी घरजग्गा संकटका कारण उपभोक्ताको सम्पत्तिप्रतिको भरोसा कमजोर भएको छ । धेरै लगानीकर्ता पछिल्लो समय सुनजस्ता वैकल्पिक सम्पत्तितर्फ पनि आकर्षित भएका छन् ।

खराब मौसमले झनै थप्यो समस्या

जुलाईमा चीनका पूर्वी र दक्षिणी औद्योगिक क्षेत्रले कयौं प्रतिकूल मौसमको सामना गरे । चीनमा तीनवटा आँधी प्रवेश गरेपछि लाखौँ मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।  यसले कारखाना, खुद्रा व्यापार र अन्य आर्थिक गतिविधिमा असर पुर्‍याएको अनुमान छ । चीनमा कार बिक्री पनि जुलाईमा लगातार १०औँ महिनामा घटेको छ । सन्तोषको कुरा कमीको गति केही सुस्ताएको छ । घरेलु बजार कमजोर भएपछि चिनियाँ कार निर्माता कम्पनीहरू विदेशी बजार विस्तारमा बढी निर्भर हुन थालेका छन् ।

घरेलु माग र लगानी कमजोर भए पनि चीनको निर्यात भने अर्थतन्त्रको महत्वपूर्ण सहारा बनेको छ । विश्वभर एआई पूर्वाधार निर्माण बढ्दा चिनियाँ कारखानाले त्यसबाट फाइदा पाइरहेका छन् । जुलाईमा बाँकी विश्वसँगको व्यापारमा चीनको बचत फेरि १ खर्ब डलरभन्दा माथि पुगेको छ । वर्षभरको व्यापार बचत १ ट्रिलियन डलरभन्दा माथि पुग्ने सम्भावना रहेको बताइएको छ ।

तर ठूलो व्यापार बचतले चीनका व्यापारिक साझेदारलाई भने चिन्तित बनाएको छ।  युरोपेली संघले चीनसँगको व्यापार घाटा कम गर्न थप कडा कदमबारे विचार गरिरहेको छ भने अमेरिकाले चिनियाँ सामानमाथि नयाँ शुल्क लगाएको छ । चीनका नेताहरूले सुस्त अर्थतन्त्रलाई समर्थन गर्न सरकारी खर्च तीव्र बनाउने र आवश्यकताअनुसार नयाँ नीतिगत उपाय ल्याउने प्रतिबद्धता जनाएका छन् । तर अहिलेसम्म ठुलो प्रोत्साहन प्याकेज आउने स्पष्ट संकेत दिइएको छैन ।

कन्फ्रेन्स बोर्डमा चाइना सेन्टरका प्रमुख अर्थशास्त्री युहान झाङका अनुसार चीनको अर्थतन्त्रमा केही क्षेत्र बलियो भए पनि समग्रमा अवस्था कमजोर छ । हालैको प्रतिकूल मौसमले चीनको अर्थतन्त्र ४ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतले बढ्ने नीतिनिर्माताहरूको आशामा तुषारापात गर्न नसक्नेमा फु विश्वस्त छन् । तर अहिले सरकारबाट सहयोग पाएका केही क्षेत्रमा देखिएको गतिविधिले अन्ततः सामान्य परिवारको खर्च र निजी लगानीमा पनि व्यापक सुधार ल्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको झाङ्ले भनेका छन् ।