नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ऐक्यवद्धता जनाउनु भएको छ।
बिहिबार बानेश्वर क्षेत्रमा आन्दोनरत शिक्षकहरुका माग सम्बोधन गर्न नेता खनालले सरकारसँग माग गर्नुभएको छ। सरकारले शिक्षकका मागहरु सम्बोधन गर्न ढिलाई गरेको बताउदै खनाले सरकारलाई खबरदारी गर्नुभएको हो।
देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेको अवस्थामा नेता खनालले ऐक्यवद्धता जनाउनुलाई महत्वपूर्ण राजनीतिक अर्थमा हेरिएको छ।
शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ। शिक्षकहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन्।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ।