रुसले युक्रेनको राजधानी किभमा बिहीबार बिहानसम्म करिब ११ घण्टा लगातार मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । रुसले यो आक्रमण युक्रेनले आफ्ना तेल प्रशोधन केन्द्रहरूमा गरेको लामो दूरीको हमलाको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ ।
बिहीबार रातभभर राजधानी किभमा शक्तिशाली विस्फोटका आवाज गुञ्जिएका थिए । हवाई आक्रमणको चेतावनी जारी भएपछि हजारौं स्थानीयवासी मेट्रो स्टेशन र भूमिगत आश्रयस्थलमा शरण लिन बाध्य भएका थिए । बिहानसम्म पनि उद्धारकर्मीहरू भत्किएका तथा आगलागी भएका आवासीय भवनका भग्नावशेषमा फसेकाहरूको खोजी गरिरहेका थिए ।
युक्रेनको आपत्कालीन सेवाका अनुसार आक्रमणबाट राजधानीका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ। किभका मेयर भिताली क्लिच्कोले ९० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन् ।
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले ‘किभका लागि भयावह रात’ भन्दै आक्रमणको कडा निन्दा गरेका छन्। किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार शहरका कम्तीमा ३० स्थानमा क्षति पुगेको छ, जसमा अधिकांश आवासीय भवन र नागरिक पूर्वाधार रहेका छन्। आन्तरिक मामिलामन्त्री इहोर क्लिमेन्कोले करिब २० वटा आवासीय भवन प्रभावित भएको बताएका छन् ।
आक्रमणका क्रममा आकाशभरि ड्रोन र मिसाइल विस्फोटका चमक देखिएको थियो भने हवाई प्रतिरक्षा प्रणालीले प्रहार गरेका मिसाइलका रेखाहरू पनि स्पष्ट देखिएका थिए । केही क्षेत्रका नौतले आवासीय भवनका अधिकांस तला भत्किएका छन् भने केही स्थानमा मानिसहरू भग्नावशेषभित्रै फसेका थिए।
रुसको रक्षा मन्त्रालयले ‘उच्च सटीकतायुक्त लामो दूरीका हतियार र ड्रोन’ प्रयोग गरेर किभ तथा वरपरका सैन्य उद्योग, ऊर्जा पूर्वाधार र अन्य चार क्षेत्रमा रहेका सैनिक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमण ‘सैन्य वा सेनासँग सम्बन्धित लक्ष्य“ मा मात्र केन्द्रित रहेको दाबी गरेका छन्।
तर युक्रेनले रुसले बारम्बार नागरिक बस्तीलाई नै निशाना बनाउँदै आएको आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार युद्ध सुरु भएयता १६ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको ज्यान गइसकेको छ ।
युक्रेनको वायुसेनाका अनुसार रुसले यस आक्रमणमा ७४ वटा मिसाइल प्रहार गरेको थियो, जसमध्ये २४ वटा ब्यालिस्टिक मिसाइल थिए । साथै ४९६ वटा विभिन्न प्रकारका ड्रोन पनि प्रयोग गरिएको थियो। युक्रेनी अधिकारीहरूले ब्यालिस्टिक मिसाइल रोक्न अझ प्रभावकारी मानिने ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराइदिन पश्चिमी साझेदार राष्ट्रहरूसँग पुनः आग्रह गरेका छन्।
यसैबीच युक्रेनले पनि रुसमाथि आफ्ना आक्रमणलाई निरन्तरता दिएको छ । युक्रेनी सेनाले मस्कोको पूर्वतर्फ रहेको निज्नी नोभगोरोड क्षेत्रमा अवस्थित रुसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरी आगलागी गराएको जनाएको छ । साथै, रुसी नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा सैनिक आपूर्ति र जनशक्ति ओसारपसारका लागि प्रयोग हुने रेल पुलमा पनि आक्रमण गरिएको दाबी गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्ला दिनमा रुसका तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरिरहेका छन्। युक्रेनले यी आक्रमणहरू रुसलाई वार्ताको टेबलमा ल्याउने रणनीतिक प्रयास भएको बताउँदै आएको छ । तर रुसले त्यसको जवाफमा अझ तीव्र हवाई आक्रमण गरिरहेको छ।
युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसहित विभिन्न कूटनीतिक प्रयास भए पनि हालसम्म कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन । पश्चिमी विश्लेषकहरूका अनुसार रुसले समय आफ्नो पक्षमा रहेको विश्वास गर्दै रणनीतिक बमबारीमार्फत युक्रेनमाथि दबाब बढाउने नीति अपनाइरहेको छ।
उद्धार कार्य जारी रहेकाले किभमा मृतकको संख्या अझ बढ्न सक्ने युक्रेनी अधिकारीहरूले बताएका छन् । (एपीमा आधारित)