ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले घटनालाई थप गम्भीर र सनसनीपूर्ण बनाएको छ। उनले आफ्ना बुबा कुमार थापामगर (नेपाली ब्रो) ले आवेगमा नभई पूर्वयोजना बनाएर आमाको हत्या गरेको दाबी गरेका छन्। साथै, बुबाकी प्रेमिका प्रतीक्षा आचार्य, काका विक्रम थापामगर र अन्य केही व्यक्तिले पनि हत्या हुन सक्ने परिस्थिति सिर्जना गर्न भूमिका खेलेको आरोप लगाएका छन्।
जेनिशका अनुसार करिब सात–आठ महिनाअघि उनले आफ्नै कानले बुबा र प्रतीक्षा आचार्यबीच भएको टेलिफोन संवाद सुनेका थिए। उनका अनुसार उक्त कुराकानीमा प्रतीक्षाले ‘पहिले आफ्नो श्रीमतीलाई मार, अनि बल्ल म तिम्रो घरमा भित्रिन्छु’ भनेकी थिइन्।
उनले बुबाको फेसबुक मेसेन्जर प्रयोग गर्ने क्रममा कुमार थापामगर, प्रतीक्षा आचार्य र काका विक्रम थापामगर सँगै क्लब तथा डिस्कोमा घुमेको फोटो र भिडियो फेला पारेको र ती सामग्री आमालाई पठाइदिएको बयान दिएका छन्। यही सम्बन्धलाई लिएर घरमा पटक–पटक विवाद हुने गरेको उनको भनाइ छ।
जेनिशका अनुसार बुबाले परस्त्रीसँग सम्बन्ध राख्ने विषयमा आमाले विरोध गरेपछि घरमा नियमित झगडा हुने, कुटपिट गर्ने र मानसिक यातना दिने गरेका थिए। परिवारले पटक–पटक सम्झाउँदा पनि व्यवहार नसुध्रेपछि प्रहरीमा समेत उजुरी परेको थियो।
उनले आफ्ना काका विक्रम थापामगरले समेत बुबालाई हत्या गर्न उक्साउने गरेको आरोप लगाएका छन्। बयानअनुसार विक्रमले ‘एउटा श्रीमती तह लगाउन सक्दैनस्, बुढीको पेटिकोट लगाएर हिँड, कति पैसा लाग्छ म खर्च गर्छु’ भन्दै बारम्बार उक्साउने गरेका थिए।
जेनिशले आमा ईश्वरी भुजेलले वैवाहिक बलात्कारको आरोपमा कुमारविरुद्ध मुद्दा दायर गरेपछि सम्बन्ध झन् बिग्रिएको बताएका छन्। धरौटीमा छुटेपछि कुमारले मुद्दाको रिसमा परिवारलाई कुट्न खोज्नुका साथै कोठाबाहिर ग्यास सिलिन्डर विस्फोट गराएर सबैलाई मार्ने प्रयास गरेको दाबी पनि उनले गरेका छन्। त्यसबेला आफन्त र छिमेकीको मध्यस्थतामा घटना सामसुम पारिएकाले उजुरी नगरिएको उनको भनाइ छ।
पछि प्रहरीको समन्वयमा परिवार छुट्टाछुट्टै फ्ल्याटमा बस्न थालेको, आमाले सम्बन्धविच्छेदको मुद्दासमेत दायर गरेको र त्यो मुद्दा अदालतमा विचाराधीन रहेको उनले उल्लेख गरेका छन्। अलग बसेपछि पनि कुमारले घरमा आएर ‘मारिदिन्छु, काटिदिन्छु’ भन्दै धम्की दिने गरेको जेनिशको बयानमा उल्लेख छ।
हत्या भएको दिनको घटनाक्रमबारे उनले अदालतमा विस्तृत बयान दिएका छन्। उनका अनुसार त्यस दिन उनी र आमा सम्बन्धविच्छेद मुद्दाको पेशीका लागि काठमाडौं जिल्ला अदालत गएका थिए। अदालतबाट फर्किएपछि उनले आमालाई कार्यालयमा छाडेका थिए। राति घरबाट फोन आएपछि कुमार घरमा आएर भाइलाई खोज्दै धम्की दिएको जानकारी पाएपछि उनले आमालाई खबर गरेका थिए।
आमा कार्यालयबाट फर्किन ढिलो भएपछि उनले आफन्तसँग मिलेर खोजी सुरु गरेका थिए। खोजीका क्रममा आमाको मोबाइलमा फोन गर्दा एक अपरिचित पुरुषले फोन उठाउँदै पैयुटार क्षेत्रमा एक महिला रगताम्य अवस्थामा लडिरहेको जानकारी दिएका थिए। घटनास्थल पुग्दा आमाको घाँटीमा गहिरो चोट लागेको देखिएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जेनिशले बताएका छन्।
घटनापछि आफूलाई बुबामाथि नै शंका लागेको उनले बयानमा उल्लेख गरेका छन्। उनले मामाको छोरीको मोबाइलबाट कुमारलाई फोन गरी ‘आमालाई तपाईंले मार्नुभएको हो?’ भनेर सोध्दा कुमारले फोन बन्द गरेको बताएका छन्।
जेनिशका अनुसार पछि प्रहरीले उपलब्ध गराएको सीसीटीभी फुटेज हेर्दा आमालाई घर नजिकै पैयुटार क्षेत्रमा बाटो ढुकी धारिलो चक्कु प्रहार गरेर हत्या गरिएको देखिएको थियो। उनले फुटेजमा देखिएको स्कुटर चालक आफ्नी आमा ईश्वरी भुजेल र आक्रमणकारी आफ्ना बुबा कुमार थापामगर भएको सनाखत गरेका छन्।
उनले प्रतीक्षा आचार्यले कुमारसँगको सम्बन्धलाई निरन्तरता दिएको, विक्रम थापामगरले त्यसलाई प्रोत्साहन गरेको तथा पूजन थापा क्षेत्रीले दुवैलाई भेटघाट गराउने, सहयोग गर्ने र सम्बन्ध अघि बढाउन भूमिका खेलेको आरोपसमेत लगाएका छन्। यी सबै गतिविधिले हत्या हुन सक्ने वातावरण सिर्जना गरेको भन्दै सम्बन्धित सबैलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ।
यस्तै, प्रकाश भुजेल (झाँक्री) सँग पनि कुमारको निकट सम्बन्ध रहेको उल्लेख गर्दै घटनामा उनको भूमिका भए–नभएकोबारे पनि अनुसन्धान हुनुपर्ने जेनिशले बताएका छन्।
अन्तिममा उनले कुमार थापामगरले हत्या हुनुभन्दा दुई दिनअघि घरमा जडान गरिएको सीसीटीभीको तार काटेको, पूर्वयोजना बनाएर आमा ईश्वरी भुजेलको घाँटी रेटी हत्या गरेको र घटनामा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।