संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) ले नेपाल वायुसेवा निगम नाफामा जान नसक्नु स्वाभाविक भएको बताएका छन्।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले विश्वका अधिकांश वायुसेवा कम्पनीहरूले औसतमा ३ देखि ५ प्रतिशत मात्र नाफा गर्ने भएकाले नेपाल वायुसेवा निगम घाटामा हुनु अस्वाभाविक नभएको बताए। उनले निगमको घाटालाई ठूलो मुद्दाका रूपमा लिन नपर्ने धारणा राखे।
मन्त्री पौडेलले धेरै नाफा गर्न नसक्ने संस्थाले ठूलो ऋण लिन नहुने बताए। निगमले विगतमा लिएको ठूलो ऋणलाई अदूरदर्शी कदमको संज्ञा दिँदै क्षमताभन्दा बढी ऋण लिनु उचित नहुने तर्क गरे।
उनले आफ्नो तर्फबाट निगमको व्यवस्थापनमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सञ्चालक समितिले गरेका निर्णय र सिफारिसलाई कहिल्यै नअल्झाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयले निगमका गतिविधिलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै गलत कार्य गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी पनि दिए।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विगतको राजनीतिक अस्थिरताका कारण निगममा नकारात्मक असर परेको भए पनि अहिले निराश हुनुपर्ने अवस्था नरहेको बताए।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले अनेकौँ चुनौती र बाधाका बीच पनि निगमले सकारात्मक संकेत देखाउन सफल भएको बताए। उनका अनुसार पछिल्लो समय यात्रुको संख्या बढ्नुका साथै निगमको आम्दानी पनि वृद्धि भएको छ।
कार्यक्रममा वार्षिकोत्सवका अवसरमा प्रकाशित निगमको वार्षिक प्रकाशन ‘आकाशभैरव’ को लोकार्पण पनि गरिएको थियो।
यसैबीच, वार्षिकोत्सवकै अवसरमा निगमको केन्द्रीय कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित रक्तदान कार्यक्रममा २६४ जनाले रक्तदान गरेका निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।