‘ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। यसलाई ढिला गरे गल्ती हुन्छ,’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिको एक अंश हो यो।
मदन भण्डारी फाउन्डेसनले आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक अन्तक्रियाको आयोजना गरेको थियो। सोही क्रममा भण्डारी पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दायाँ–बायाँ बसेका दाहालसहित दुई वामपन्ती दलका चार शीर्ष नेताहरूले पार्टी एकताका लागि जोड दिएका हुन्।
पटकपटक एकता र विभाजनको चक्रमा फस्दै आएका उनीहरू व्यक्तिगत लाभहानिकै आधारमा जुट्ने र फुट्ने गर्दै आएका छन्। २०७४ सालको आमनिर्वाचनअघि एक ठाउँमा उभिएका उनीहरूको व्यक्तिगत स्वार्थ टकराउँदा पार्टी एकताको काम पूरा नहुँदै तीन टुक्रामा विभाजित हुन पुगेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हुँदै फागुन २१ गतेको आमनिर्वाचनसम्म पुग्दा सत्ता राजनीतिको किनारामा पुगेका दुई दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिएर एकता र सहकार्यको कुरा गरेका छन्। केही समयअघिसम्म एकले अर्काको मुख हेर्न पनि नचाहने बताउँदै एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतामा जोड दिएका छन्।
सात वर्षभन्दा बढी राष्ट्रध्यक्षको भूमिकामा रहेर पनि एमालेको सक्रिय राजनीति गर्न लालायित भण्डारीलाई प्रमुख अतिथि रहेको कार्यक्रममा नेतृत्व छाड्न दबाबमा रहेका नेताहरूले एकताको आवश्यकता औंल्याएका छन्।
निकटहरूले नै साथ छाड्दा ओली, दाहालसहितका शीर्ष नेताहरू अहिले पार्टीभित्रै अप्ठेरोमा पर्दै आएका छन्। भण्डारीलाई एकीकृत पार्टीको नेतृत्वमा अघि सार्दै ओली, दाहाल, नेपाल, खनालसहितका नेताहरूलाई संरक्षकमा राख्नुपर्ने प्रस्ताव यसअघि पनि दुवै पार्टीका नेताहरूले गर्दै आएका थिए। अहिले पनि त्यसकै सेरोफेरोमा छलफल चलिरहेको दाबी गर्दै एक नेताले भने, ‘पुस्तान्तरण र रूपान्तरणसहित सबैको सम्मानजनक निकासको बाटो यही नै हो।’
आइतबारको कार्यक्रमलाई त्यसकै सुरुवातका रूपमा व्याख्या गर्दै भण्डारीनिकट एक नेताले थपे, ‘सबै नेता उहाँलाई प्रमुख अतिथि मात्र होइन, नयाँ नेतृत्व स्वीकार गर्न तयार देखिनुहुन्छ।’ केही महिनाअघिसम्म एमाले अध्यक्ष ओली भण्डारीलाई पार्टीको सदस्यतासमेत दिन तयार नभएको प्रसंग उल्लेख गर्दै उनले थपे, ‘पार्टी सदस्यता नवीकरण गर्दै कार्यक्रममा उहाँ सहभागी हुनुले त्यही संकेत गर्छ।’
भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका ओलीले वामपन्थी मात्र नभएर सबै लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। मुलुकमा प्रतिगमन मौलाउँदै गएको जनाउँदै ओलीले भने, ‘प्रतिगमन पराजित गर्नु मुख्य काम हो। त्यसका लागि सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ।’
वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको जनाउँदै ओलीले थपे, ‘एमाले हाम्रा नीति सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन। हाम्रा नीति एकदमै सही छन्।’
नेकपा संयोजक दाहालले भने वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्न नहुने धारणा राखे। आजको भोलि नै पार्टी एकता गर्न नभए पनि कार्यगत एकताका लागि ढिला गर्न नहुने बताए। ‘मैले आजभोलि नै पार्टी एकता गरौं भनेको छैन। सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ उनले भने।