आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट बागमती सरकारको बजेटमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका इन्दबहादुर बानियाँ प्रदेश सरकारका मुख्यमन्त्री छन् ।

उनको नेतृत्वमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएका छन् । उक्त बजेटमा कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । सांसदहरूले बजेटमा सांसलहरूलाई विभेद गरेको बताएका छन् भने मन्त्रीको निर्वाचन क्षेत्रकेन्द्रित भएर कार्यक्रमहरू प्रस्ताव गरेको आरोप लगाएका छन् ।

उनीहरूले बजेटमा ३ व्यक्ति हाबी भएको आरोप लगाउँदै आएका छन् । विशेषगरी अर्थमन्त्रीले आफूअनुकुल एक मन्त्री र एक सांसदलाई बजेट निर्माणमा प्रत्यक्ष संलग्न गराएको र सांसदहरूले दिएका आयोजनाहरू हटाएर आफ्ना कार्यक्रमहरू थप गरेको उनीहरूको भनाइ छ ।

कांग्रेसका एक सांसदका अनुसार बजेट सिलिङ तोकीए अनुसारको बजेट समेट कटौती गरेर अर्थ मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरेको उनले बताए । विकट तथ ग्रामीण क्षेत्रको बजेट कटौती गरेर सहरी क्षेत्रका आयोजनाहरूमा बजेट कार्यक्रम समावेश गरेको उनको भनाइ छ । अर्थमन्त्री तामाङले गृहजिल्ला रसुवामा एउटै पोखरी संरक्षणका लागि ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको र पछि संसदहरूसँग समन्वयसमेत नगरेको उनले बताए ।

कांग्रेस सांसद सुना परियारले बजेटमा नीतिगत स्पष्टता अभाव रहेको बताइन् । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहिलेको तुलनामा ‘सिस्टम्याटिक’ देखिए पनि नीतिगत रूपमा भने कमजोरी रहेको उनले बताइन् । मन्त्रीहरूले व्यक्तिगत बजेटलाई प्राथमिकता दिएको सांसद परियारको आरोप छ । बजेटमा मन्त्रीहरूको व्यक्तिगत प्रभाव र साना योजनाहरूको बाहुल्यता रहेको उनको भनाइ छ । सांसद परियारका अनुसार बजेटमा मन्त्रालयगत नीतिहरूभन्दा पनि मन्त्रीहरूले आफ्नो व्यक्तिगत र निर्वाचन क्षेत्रलक्षित योजनालाई बढी प्राथमिकता दिएका छन् ।

सरकारले दलित विकास कार्यक्रम शीर्षक राखे पनि त्यसका लागि विनियोजित बजेट अपर्याप्त रहेको उनको भनाइ छ । बजेट थोरै हुँदा यसले प्रभावकारी रूपमा काम गर्न नसक्ने उनले बताइन् ।

बजेटमा ५० लाख वा कम्तीमा ३० लाखभन्दा साना योजना नराख्ने सत्ता साझेदार दलहरूबिच सहमति भए पनि त्यसको पालना नभएको उनले बताइन् । विशेषगरी भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत धेरै साना र टुक्रे योजनाहरू बढी समावेश भएको उनले बताइन् ।

‘पहिलेको भन्दा बजेट राम्रै छ । तर यो अलि नीतिगत भएर आउनुपर्ने थियो,’ उनले भनिन्, ‘मन्त्रीहरूले आफ्नो व्यक्तिगत बजेटलाई बढी प्रायोरिटी दिँदा नीतिगत बजेटहरू अलि कमजोर भएका छन् र कतिपय महत्त्वपूर्ण कुराहरू छुटेका छन् । हामीले ३० लाखभन्दा तलका योजना नराख्ने सहमति गरेका थियौं । तर अहिले १० लाख र २० लाखका योजनाहरू पनि आएका छन् । करोड–करोडका योजना माग गर्दा पनि साना योजना हालिएको छ । यो किन र कसरी भयो । यसबारे मन्त्रीसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपर्नेछ ।’

बजेट पूर्ण रूपमा असफल, अर्थमन्त्रीले प्रणाली मिचेः पूर्वमुख्यमन्त्री लामा

पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको बताए । बजेटले प्रदेशको विकासमा गति दिन नसक्ने उनको दाबी छ ।

प्रदेशका अर्थमन्त्रीले आफ्नै निर्देशिविपरीत साना योजनाहरू समेटेको र संसदीय मर्यादा मिचेको उनको आरोप छ । पूर्वमुख्यमन्त्री लामाका अनुसार सरकारले ५० लाख र ३० लाख रुपैयाँभन्दा मुनिका योजना बजेटमा नराख्ने निर्देशिका जारी गरे पनि कार्यान्वयनको बेला २० लाख र त्योभन्दा साना १०/५ लाखका योजनाहरू व्यापक रूपमा समेटिएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम आकर्षक देखिए पनि बजेटसँग त्यसको कुनै सम्बन्ध नरहेको लामाको टिप्पणी छ । संसदले पास गरेको बजेटमाथि अर्थमन्त्रीले कैँची चलाएको उनको आरोप छ । ठुला योजनाहरूमा बजेट कटौती गरेर अर्थमन्त्रीले गलत नजिर बसालेको पनि उनले बताए ।

‘अर्थमन्त्रीले आफैँले बनाएको निर्देशिकाको खिलाफमा गएर बजेट ल्याउनुभयो । यो सरासर नीतिगत भ्रष्टाचार र अक्षमता हो,’ उनले भने, ‘नीति तथा कार्यक्रममा ठुला कुरा गर्ने तर बजेटमा साना र टुक्रे योजना बाँड्ने काम भएको छ । बजेटले नीति तथा कार्यक्रमलाई चिन्दैन । संसद सर्वोपरि हो, संसदले पास गरेको बजेट सरकारले काट्न पाउँदैन । बजेट पुग्दैन भने मन्त्रालयमार्फत सरेन्डर गर्ने प्रक्रिया हुन्छ । तर यहाँ प्रणाली नै मिचिएको छ ।’

प्रदेशको खर्च गर्ने क्षमतासमेत खस्किएको र हाल केन्द्रबाट आउने अनुदान १ अर्बले घटेको अवस्थामा ठुलो बजेट ल्याउनु चुनौतीपूर्ण रहेको उनले बताए । कार्यान्वयन पक्षमा रहेका कर्मचारीहरूको सेवा–सुविधा र बजेट कटौती गर्दा उनीहरूको मनोबल गिरेको अवस्थामा समग्र विकास प्रक्रियामा अवरोध पुग्ने उनले बताए ।