गिरी हत्या रहस्य खुल्दै, तीन युवालाई प्रहरीले ल्यायो नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,४ बैशाख २०८२।नयाँ वर्ष २०८२ शुरु भएकै दिन एकाबिहानै तनहुँमा एक व्यक्तिको ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको छ ।

तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मङ्गल गिरीलाई गत वैशाख १ गते बिहान ६ः३० बजे ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको छ ।

गिरीको हत्या आरोपमा इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले समातेका युवाहरुमा शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने २१ वर्षीय अमन गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका–१२ छिर्कने बस्ने १८ वर्षीय विजय गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

अभियुक्तहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको थापाले बताए ।

गत वैशाख १ गते बिहान ६ः३० बजे शुक्लागण्डकी नगरपालिका–७ टुडा जाने बाटोमा टाउकोमा चोट लागी मृत अवस्थामा गिरीको शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घटनासम्बन्धमा अनुसन्धान सुरु गरेकामा मृतकको पहिचान खुलेको थियो ।