डा. भट्टलाई गभर्नर बनाउन देउबाको प्रस्तावमा ओलीको समर्थन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,४ बैशाख २०८२।लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रम ओली डा गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने नेपाली कांग्रेसका सभापति देउबाको प्रस्ताबलाई सहमत भएका हुन्। हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेश गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।

समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ।

प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए। नेताहरूका अनुसार, ओलीले ‘नीलम ढुंगाना पनि तपाईँहरूकै (डेमोक्र्याट) हो, महिला र डेपुटी गभर्नर पनि भएकाले विवाद पनि हुँदैन’ भनेर आश्वस्त पार्ने प्रयास गरेका थिए। तर, देउवा त्यसमा तयार भएनन्।

यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि कांग्रेस नेतृत्वको साथ पाएर गभर्नर बन्ने प्रयासमा थिए।

क्षत्री र पाण्डे सर्वोच्च अदालतको आदेशका कारण प्रतिस्पर्धाबाट बाहिर परिसकेका छन्। सर्वोच्चले मंगलबार मात्र ६५ वर्षे उमेर हदको व्यवस्था हटाउने गरी मापदण्डमा सरकारले गरेको संशोधन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो।

भट्टले यसअघि प्रकाशशरण महत अर्थमन्त्री छँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई गभर्नर बनाउनुपर्ने भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरूदेखि सांसदहरूका टोली धेरैपटक ‘यत्तिको मान्छेलाई गभर्नर बनाउनैपर्ने’ भन्दै बूढानीलकण्ठ पुगेका थिए।

राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्। र, अहिले आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला भट्ट त्यसबाट टाढै रहेका व्यक्ति हुन्।