मधेस सरकारको नीति तथा कार्यक्रममा नारैनारा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मधेस सरकारको नीति तथा कार्यक्रममा नारैनारा मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न नारा समेटेको छ । प्रदेशको समृद्धिका लागि तय गरिएका योजनालाई विभिन्न २० नारामार्फत सजाइएको छ ।

शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा प्रस्तुत गरेको ‘मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम’मा प्रदेशको विशिष्ट पहिचान, भौगोलिक अवस्थिति तथा जनसाङ्ख्यिक लाभको समुचित उपयोग गर्दै समृत मधेस निर्माणको सोचलाई साकार पार्न मधेस प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख छ ।

नीति तथा कार्यक्रमको सुरुवातमै ‘मेड इन मधेस, समृद्ध प्रदेश’ नारा अघि सारिएको छ । उक्त नारालाई मध्यनजर गर्दै ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश’ अभियानलाई केन्द्रमा राखी खाद्यान्नमा आत्मनिर्भरता बढाउन कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

यस्तै, ‘किसानको शान, मधेसको मखान’ नारा अन्तर्गत प्रदेशको विशिष्ट पहिचान बोकेको मखान खेतीको व्यावसायिक विकास र विस्तार गरिने जनाइएको छ ।

‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ भन्ने नाराका साथ माटोमा प्राङ्गारिक पदार्थको मात्रा उल्लेख्य रूपमा वृद्धि गर्न प्राङ्गारिक, जैविक भर्मी कम्पोस्ट, हरियो मल र जीवाणु मलको प्रयोगलाई उच्च प्राथमिकता दिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

मधेस सरकारले ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ नारा अन्तर्गत कम्तीमा एक हजार जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य अघि सारेको छ ।

यस्तै, ‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नाराका साथ सघन साक्षरता कार्यक्रम अघि सार्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

‘पूर्ण खोप, सुरक्षित मातृत्व र सन्तुलित आहारः स्वस्थ र समृद्ध मधेसको मुख्य आधार’ भन्ने नारा अन्तर्गत प्रदेश सरकारले पूर्ण खोपसहितको मातृ–शिशु स्वास्थ्य प्रवर्द्धन तथा कुपोषण न्यूनीकरणका लागि पोषणयुक्त खाद्य सामग्री वितरण लगायतका बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य अघि सारेको छ ।

यसैगरी ‘मेरो स्वास्थ्य– मेरो जिम्मेवारी’ नारा अन्तर्गत प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना र सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवालाई गाउँ–बस्तीसम्म विस्तार गर्ने लक्ष्य राखेको छ ।

‘समावेशी समाज, सशक्त मधेस’ नारा अन्तर्गत मधेस सरकारले महिला, युवा, दलित, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसङ्ख्यक, सीमान्तकृत र विपन्न समुदायको सशक्तिकरण तथा आर्थिक उन्नतिका लागि रोजगार एवं स्वरोजगारका विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यस्तै, ‘महिलाको सिप र साहस, मधेस विकासको विश्वास’ नारा अन्तर्गत महिलालाई सीप विकास, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय पहुँचको नीति अवलब्ध गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘शिक्षित छोरीः सुरक्षित मधेस, उद्यमशील नारीः समृत प्रदेश’ नारा अन्तर्गत प्रदेश सरकारले यसअघिको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम परिमार्जन गरेको छ ।

मधेस सरकारले ‘प्लास्टिकमुक्त मधेस, स्वच्छ र स्वस्थ परिवेश’ नारा अन्तर्गत एकल प्रयोगका प्लास्टिकलाई प्रतिबन्धित गरी बायो–डिग्रेडेबल’ विकल्पको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ ।

यस्तै, ‘स्वस्थ समाजको लागि स्वास्थ्य शिक्षा’ नीति अन्तर्गत विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, नैतिक शिक्षा र सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने लक्ष्य प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको छ ।

यसैगरी ‘खेलकुद रोजौँ, लागुऔषध त्यागौँ’ नारा अन्तर्गत प्रदेश सरकारले युवा पुस्तालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा संलग्न गराउने लक्ष्य अघि सारेको छ ।

‘खेलकुद पूर्वाधारको विस्तार र प्रतिभा पहिचानः समृत मधेसका लागि खेलकुद विकासको नयाँ अभियान’ भन्ने मूल नाराका साथ प्रदेशको खेलकुद क्षेत्रको व्यावसायिक विकासका लागि आधुनिक पूर्वाधार निर्माण तथा तल्लो तहदेखि नै खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षमता अभिवृद्धि गर्ने कार्यक्रम प्रदेश सरकारले अघि सारेको छ ।

यस्तै, ‘कृषि रुपान्तरणको आधार, प्रविधि र पूर्वाधार’ नारा अन्तर्गत कृषिजन्य वस्तुको व्यावसायीकरण, औद्योगिकरण र यान्त्रीकरणमार्फत उत्पादन अभिवृद्धि गर्न किसानलाई आधुनिक प्रविधि तथा औजार उपलब्ध गराउने योजना प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

प्रदेश सरकारले ‘विपद् पूर्व तयारीः हाम्रो जिम्मेवारी’ नाराका साथ विपद् जोखिम न्यूनीकरण पूर्व तयारी र प्रतिकार्य तथा पुनर्लाभका लागि एकीकृत प्रणाली विकास गरी कार्यान्वयन गर्ने भएको छ ।

‘विद्युतीय सवारी वितरण र विस्तार, श्रमिकलाई रोजगारीको बलियो आधार’ भन्ने नाराका साथ मधेस सरकारले वातावरणमैत्री यातायात व्यवस्था प्रणाली प्रवर्द्धनका लागि विद्युतीय सवारी साधनको प्रयोग र सञ्चालनलाई प्रोत्साहन गर्ने तथा सार्वजनिक तथा निजी साझेदारीमा चार्जिङ स्टेशन स्थापना गर्ने नीति अघि सारेको छ ।

‘एक रुखको नाश, दश रुख विकास’ नाराका साथ मधेस सरकारले पूर्वाधार निर्माणका क्रममा काटिने प्रत्येक रुखको सट्टा दश वटा नयाँ रुख रोप्ने र पाँच वर्षसम्म संरक्षण गर्ने योजना अघि सारेको छ ।

यस्तै, ‘हरित मधेस, जोगाउ प्रदेश’ नारा अन्तर्गत खाली तथा उपयोगविहीन सार्वजनिक एवं निजी जग्गामा बृहत् वृक्षारोपण र संरक्षण गर्न स्थानीय तह तथा निजी क्षेत्रसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने योजना प्रदेश सरकारले अघि सारेको छ ।

मधेस सरकारले ‘डिजिटल मधेस, प्रविधिमैत्री प्रदेश’ नारा अन्तर्गत प्राविधिक समक्षमता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्न युवालाई देशभित्रै बसेर विश्व बजारमा काम गर्न सक्ने गरी ‘आइटी हब तथा इन्कुबेसन सेन्टर’ स्थापना गर्ने लक्ष्य प्रदेश सरकारले अघि सारेको छ ।