सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।
डीआईजी दिनेशकुमार आचार्य नेतृत्वको पांच सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा प्रहरी निरिक्षक (इन्सपेक्टर) बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ।
प्रतिवेदनपछि इन्सपेक्टर भुजेललाई खुर्कोटबाट बागमती प्रदेश कार्यालय सरुवा गरिएको छ भने अन्य १० प्रहरीलाई सचेत गराउन सिफारिस गरिएको छ।
स्रोतका अनुसार छानबिन समितिले सुरक्षा र व्यवस्थापनमा कमजोरी औँल्याउँदै दुई प्रहरी कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ। प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वसन्त भुजेल र घटनाको समयमा हिरासतको डिउटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। प्रहरी निरीक्षक भुजेललाई खुर्कोटबाट सरुवा गरी बागमती प्रदेश प्रहरी कार्यालय तानिइसकिएको छ।
के थियो घटना ?
गत वैशाख ७ गते साँझ ६ बजेतिर हिरासतको शौचालयमा श्रीकृष्ण विक झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई उद्धार गरी सिन्धुली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
विक र खोटाङकी एक १६ वर्षीया किशोरीबिच करिब २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। किशोरी हराएको भन्दै परिवारले खोजतलासका लागि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएपछि वैशाख ३ मा उनी पक्राउ परेका थिए।
किशोरीका आफन्तले बलात्कारको जाहेरी दिएपछि त्यसैको आधारमा पक्राउ परेका श्रीकृष्णलाई अनुसन्धानका लागि सिन्धुली पठाइयो। वैशाख ४ गते विकलाई खुर्कोट पठाइएको थियो। पछि उनी प्रहरी हिरासत कक्षमा मृत फेला परे।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३, जुम्लीडाँडाका श्रीकृष्ण विक वैशाख ७ गते हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रेम सम्बन्धमा रहेकी १६ वर्षीया किशोरीको बलात्कार आरोपमा अनुसन्धानका लागि उनलाई खुर्कोट लगिएको थियो।