यौनजन्य हिंसाका घटना न्यूनीकरणमा चुनौती

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

महोत्तरी जिल्लामा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणमा चुनौती देखिएको छ । यस्ता घटनाका सम्बन्धमा प्रहरी प्रशासनसमक्ष उजुरी आउने क्रम बर्सेनि उस्तै रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चालु आर्थिक वर्ष (२०८१/०८२) को चैत मसान्तसम्म जबरजस्ती करणीका २८ मुद्दा दर्ता भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका ९ मुद्दा तथा अपहरण गरी जबरजस्ती करणी गरेका ६ मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा ४० वटा त्यस्ता घटना भएको थियो भने २०८०/०८१ मा ३० वटा घटना प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष जबरजस्ती करणीका घटनामा ११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने १४ जना अझै फरार छन् । जबरजस्ती करणी उद्योगका घटनामा ६ जना पक्राउ परेका छन् भने २३ जना फरार सूचीमा छन् । अपहरण तथा जबरजस्ती करणीका घटनामा ५ जनालाई नियन्त्रणमा लिइएको छ भने २ जना अझै फरार छन् ।

अधिवक्ता विजयकुमार ठाकुरका अनुसार समाजमा यौन हिंसाका घटना बढ्दै गए पनि केही घटनामा प्रेम सम्बन्ध, उमेर नपुगी विवाह तथा पारिवारिक विवादका कारण समेत जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेका छन् । उनले प्रहरीबाट पीडितमैत्री व्यवहार हुन नसकेको आरोप लगाए ।

WhatsApp Image 2026-05-14 at 6.13.20 PM (1)

उनले यौन हिंसा न्यूनीकरणका लागि कानुनी ज्ञान, नैतिक शिक्षा, पारिवारिक संस्कार तथा समाजमा सचेतना आवश्यक रहेको बताए । मोबाइल र सामाजिक सञ्जालमार्फत फैलिने अश्लील सामग्रीले समेत नकारात्मक प्रभाव पारिरहेको उनको भनाइ छ ।

महिला अधिकारकर्मी दीपा लामाले बलात्कारजस्ता जघन्य अपराधमा अझै कडा कानुन आवश्यक रहेको बताइन् । उनका अनुसार राजनीतिक, आर्थिक वा पहुँचका आधारमा आरोपी उम्किने सम्भावना रहँदा पीडितले न्याय पाउन कठिन भइरहेको छ । यस्ता अपराध गर्ने व्यक्तिलाई सामाजिक र राजनीतिक रूपमा समेत बहिष्कार गर्नुपर्ने उनको भनाइ छ ।

अर्की अधिकारकर्मी सरस्वती मिश्राले समाजमा अझै पनि लोकलाज, जातीय दबाब, राजनीतिक प्रभाव तथा आर्थिक प्रलोभनका कारण धेरै पीडित कानुनी उपचारका लागि प्रहरी र अदालतसम्म पुग्न नसकेको बताइन् । उनले यस्ता घटना मिलाउन वा दबाउन खोज्ने व्यक्तिलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।

WhatsApp Image 2026-05-14 at 6.13.20 PM

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले यस्ता घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिँदै आएको बताए । घटना जानकारी आउनेबित्तिकै प्रहरी सक्रिय भएर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने गरिएको उनको भनाइ छ । उनले कसैको इच्छाविपरीत हुने कुनै पनि यौनजन्य गतिविधि अपराध भएको स्पष्ट पारे ।

यता अदालतमा पुगेका धेरै मुद्दामा भने दाबी नपुग्ने अवस्था देखिएको छ । महोत्तरी जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका जबरजस्ती करणीका ३४ मुद्दामध्ये ८ मुद्दामा दाबी नपुगेको फैसला भएको छ भने २ मुद्दामा मात्रै दाबी पुगेको छ ।

यस्तै १७ मुद्दा अझै विचाराधीन अवस्थामा छन् । ३ मुद्दा मुलतबीमा राखिएका छन् भने १ मुद्दामा आंशिक दाबी पुगेको छ । अन्य ३ मुद्दामा दाबी परिवर्तन भएको अदालतले जनाएको छ ।

त्यस्तै जबरजस्ती करणी उद्योगका ६ मुद्दामध्ये २ मा दाबी पुगेको, ३ मा दाबी नपुगेको र १ मा आंशिक दाबी पुगेको देखिएको छ । जबरजस्ती करणी मिलापत्र सम्बन्धी १ मुद्दामा समेत दाबी नपुगेको अदालतले जनाएको छ ।

सरकारी वकिल कार्यालय महोत्तरीका सहन्यायाधिवक्ता दीपेन्द्र दासका अनुसार धेरै मुद्दामा प्रतिकूल बकपत्र, ढिलो उजुरी तथा प्रमाण नष्ट हुने कारणले दाबी नपुग्ने अवस्था आउने गरेको छ । प्रेम सम्बन्धपछि उत्पन्न विवादका घटनामा समेत बयान फेरिने समस्या देखिने गरेको उनले बताए ।