बुटवल उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारणसभा तथा निर्वाचनबाट लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरूलाई सम्मान गरेको छ।
वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न महासङ्घको निर्वाचनबाट चुनिएको नयाँ नेतृत्वलाई बुटवलमा एक विशेष कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
निर्वाचनबाट जिल्ला–नगरतर्फको उपाध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा र लुम्बिनी प्रदेश अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ चयन भएका छन्। यस्तै कार्यकारिणी समिति सदस्यहरूमा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल, निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, परासीका केशवप्रसाद भण्डारी, पाल्पाका मोहनप्रसाद श्रेष्ठ, कोहलपुरका लक्ष्मणराज पौडेल, कपिलवस्तुका यज्ञप्रसाद भट्टराई तथा रोल्पाका बालकृष्ण सुवेदी निर्वाचित भएका छन्। एशोसिएटतर्फ सिद्धार्थ सिमेन्टका राजेशकुमार अग्रवाल, पञ्चकन्याका उज्ज्वलकुमार श्रेष्ठ, एसआर स्टिलका सुरज उप्रेती तथा सर्वोत्तम सिमेन्टका दिवस न्यौपाने निर्वाचित भएका थिए।

सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित उपाध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणाली आवश्यक भए पनि यसलाई एकैपटक कार्यान्वयन गर्न कठिन हुने बताए। उद्योग, आयात र खुद्रा क्षेत्रलाई क्रमिक रूपमा समेटेर अघि बढ्न उनले सरकारलाई सुझाव दिएका छन्।
लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि महासङ्घले नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्दै निजी क्षेत्रको साथ र सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले देशको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले अपेक्षित प्राथमिकता नदिएको गुनासो गरे। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सके मात्र अर्थतन्त्र सुधारमा टेवा पुग्ने धारणा राखे।
कार्यक्रममा महासङ्घका पूर्व पदाधिकारी तथा विभिन्न नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरूले नवनिर्वाचित नेतृत्वलाई उद्योगी–व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन सुझाव दिएका थिए। उनीहरूले महासङ्घ र जिल्ला–नगर उद्योग वाणिज्य सङ्घहरूबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन्।