विधानको परिधिभित्र रहेर पार्टीभित्रको कचिङ्गल व्यवस्थापन गर्दैछौँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा फरक मत खुलेर व्यक्त गर्न पाइन्छ । पार्टीको प्रणाली नै खुलेर मत व्यक्त गर्न पाउने भएकाले बढी सार्वजनिक ‘नोटिस’मा आउने स्वाभाविकै हो । त्यसअनुसार कांग्रेसका आन्तरिक विषय बाहिर आइरहेका पनि छन् । कांग्रेसमा लोकतान्त्रिक अभ्यास बढी देखिने भएकाले पार्टीभित्रको झगडा वा कचिङ्गल बाहिर आउने र सञ्चारमाध्यममा समाचार बन्ने गरेका छन् ।

लोकतान्त्रिक पार्टीमा फरक मतलाई मर्यादा दिइन्छ र सम्मान गरिन्छ । त्यो खालको अभ्यास अन्य विचारधारा राख्ने पार्टीमा कमै हुन्छ । तसर्थ पनि तुलनात्मक रूपमा हाम्रो पार्टी नेपाली कांग्रेसमा नेता तथा सदस्यहरूले आफ्ना धारणा र असन्तुष्टि खुलेर राख्नुहुन्छ, अनि त्यो विषय बढी सञ्चारमाध्यम मार्फत प्रचारमा आउँछ ।

पार्टीभित्र कुनै पनि विषयमा भिन्न–भिन्न मत हुनु स्वाभाविक कुरा हो । भिन्न मत नभइकन सत्यको परीक्षण पनि हुँदैन । भिन्न मतलाई झगडाभन्दा पनि फरक मत, फरक दृष्टिकोण भन्ने अर्थमा बुझ्दा राम्रो हुन्छ । हामीले फरक मत राख्न पाउने स्वतन्त्रताको रूपमा बुझेका छौँ ।

कांग्रेसभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशनको विषय उठ्नुभन्दा अगाडिदेखि नै यस्ता खालका दृष्टिकोण बेलाबेलामा सार्वजनिक हुने र सञ्चारमाध्यममा समाचार बन्ने गरेकै हुन् । कहिलेकाहीँ एजेण्डा र फरक मतले पार्टीलाई अगाडि बढ्न र अग्रगामी बनाउन मद्दत गर्छ । हामीले विशेष गरेर २०६२÷०६३ को आन्दोलन भइसकेपछि पार्टीको पुनर्निर्माण गर्नुपर्छ, पार्टी समयसापेक्ष परिवर्तन हुनुपर्छ, जनताले अपेक्षा गरेअनुसारको पार्टी बन्नुपर्छ र समयको मागसँगै पार्टी बदलिनुपर्छ, आधुनिकीकरण गर्नुपर्छ भन्दै आएका हौँ । जनताले अपेक्षा गरेअनुसारको पार्टी नबनेको भन्ने कुरा त गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नै प्रमाणित गरिसक्यो ।

जनताले पार्टीहरू समय सापेक्ष तरिकाले परिवर्तन हुनुपर्छ, रूपान्तरित हुनुपर्छ भन्ने कुरा उठाउँदै आएका थिए, तर पार्टी परिवर्तन हुने नदेखिएपछि परिवर्तनलाई बाध्य बनाउने प्रक्रिया खोज्ने क्रममा हामी पार्टीका महाधिवेशन प्रतिनिधिहरू एकजुट भएर विशेष महाधिवेशनको मुद्दा उठायौँ । हामीले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिलाई एकजुट गर्दै हस्ताक्षर सङ्कलन गरेर पार्टीमा नीतिगत परिवर्तन, नेतृत्व परिवर्तन र आमूल सुधार गरेर जनताले सोचेको खोजेको जस्तो पार्टी बनाउने अभियान सुरु गरेका थियौँ ।

हाम्रो अभियानलाई सफल बनाउन हामीले वैधानिक प्रक्रियाको सहारा लियौँ । पार्टीका कतिपय नेताहरूले त्यतिखेर हाम्रो अभियानमा असहमति राख्नुभयो । त्यो वेला असहमत हुनुभएको नेताहरू विशेष महाधिवेशन हुनुहुन्न भन्ने र हामीचाहिँ हामीले भनेको समयमा नियमित महाधिवेशन गर्नुपर्छ, होइन भने विशेष महाधिवेशन गर्नैपर्छ भन्दैगर्दा प्रक्रियामै विशेष र नियमित महाधिवेशनका सन्दर्भमा फरक मत देखिएको थियो ।

त्यो विषय अहिले वैधानिक रूपमा निरुपण भइसकेको छ । हामीले हाम्रो अभियानलाई वैधानिक रूपमै परिवर्तन ग¥यौँ । हाम्रो त्यो परिवर्तनलाई नेपालको प्रचलित कानुन र संविधानले पनि स्वीकार गरिसकेको छ । अब यो अवस्थामा फेरि त्यही मत र विषय उठाएर बसिरहनुपर्छ भन्ने छैन ।

हामी पार्टीको १५औँ महाधिवेशनको प्रक्रियामा गइसकेका छौँ । अहिले असन्तुष्ट रहनुभएका नेताहरू महाधिवेशनमा जाँदाखेरि आफ्ना धारणा, दृष्टिकोणहरू लिएर कार्यकर्ताको बिचमा जाने र लोकप्रिय भएर आउने अवसर विधानले दिएकै छ । अब पनि आफूहरूको त्यही पुरानै अडानमा रहिरहनु पर्छ भन्ने छैन । समय अगाडि गइसकेपछि महाधिवेशनबाट कसरी फेरि पार्टी सत्तामा आउने भनेर रणनीति बनाउँदा उपयुक्त हुन्छ । फेरि कतिपय कुरा परिवर्तन बिस्तारै ‘ग्रेजुअल्ली’ हुन्छ । त्यसका लागि समय लाग्न सक्छ । अहिले हाम्रो पार्टीमा भइरहेको त्यही हो भन्ने मलाई लाग्छ ।

पार्टीका आम कार्यकर्ताहरू हामीले अवलम्बन गरेको नयाँ पद्धतिमा आइसक्नुभयो, तर केही नेताहरू वैधानिक भएको विशेष महाधिवेशनबारे आफ्ना धारणाहरूमा अहिले पनि ‘रिजर्भेसन’ राखिरहनुभएको छ । रिजर्भेसन राखिरहनुभएका नेताहरूलाई पनि हामीले भनेका छौँ, ‘ठिक छ, रिजर्भेसन राख्नुस्, आफ्नो मत लिएर अधिवेशनमा भाग लिनुस् र अधिवेशनले फेरि नेतृत्वको नयाँ टुङ्गो लगाउँछ ।’

यसलाई कसरी व्याख्या गर्ने भन्ने विषय हो । मैले यसलाई झगडाभन्दा पनि एजेण्डा दृष्टिकोणमा फरकपना रहिरहेको हो अर्थमा बुझिरहेको छु र त्यसैगरी बुझ्न सबैलाई आग्रह गर्दछु ।

कचिङ्गलको व्यवस्थापन

पार्टीभित्र देखिएका फरक मतलाई मिलाउन वार्ता, संवाद र छलफलहरू विभिन्न चरणमा विभिन्न तरिकाले भइराखेकै छन् । पार्टीमा क्यालेन्डर बनाएर वार्ता हुन्छ र गर्नुपर्छ भन्ने छैन । औपचारिक, अनौपचारिक हरेक तहबाट, कोणबाट साथीहरूले पार्टीमा देखिएको असहमतिलाई निराकरण गर्न कुराकानी गर्ने काम आफ्नो तर्फबाट गरिरहनु भएकै छ । फरक मतलाई मिलाएर लैजाने दायित्व संस्थापनको हो । त्यो काम हामीले गरिरहेका छौँ ।

असहमतिका विषय मिल्नका लागि सबैले दुई वटा कुरालाई ख्याल गर्नुपर्छ । एउटा विधानको परिधिलाई ख्याल राखेर आफ्ना धारणा राख्नुपर्छ । विधानले व्यवस्था गरेको प्रक्रियाबाटै नेतृत्व र संस्थापनले समाधान खोज्ने हो । त्यसैका आधारमा पार्टीलाई अगाडि लैजाने हो । अर्को, नीतिमा समायोजन । नीतिमा कहाँनेर समायोजन गर्ने ठाउँ छ भन्ने पत्ता लाग्यो भने नीतिगत समायोजन पनि हामी गर्छौं । ती सबै विषयको निरुपण विधानमा गरिएको व्यवस्था अनुसार गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

विधानभन्दा बाहिरबाट, विधानले परिकल्पना नगरेको प्रक्रियाबाट अगाडि बढ्न सकिँदैन । विधानले जे व्यवस्था गरेको छ, त्यसैको परिधिमा रहेर समस्याको समाधान खोज्न हामी तयार छौँ । बसेर हामीले ‘प्याचअप’ गर्नुपर्ने, समायोजन गर्नुपर्ने, फरक मतलाई सम्मान दिएर समावेशीकरण गर्दै लैजानु पर्ने कुराहरूमा नेतृत्व र संस्थापन सदैव खुला छ । यी विषयवस्तु नेतृत्व र समस्या समाधानका लागि वार्तामा बसिरहनु भएका साथीहरूले राखिरहनु भएको छ । मिल्ने, मिलाउने क्रम जारी छ । एकताको महाधिवेशन गराउने तरिकाले हामी अगाडि बढ्छौँ ।

(नेपाली कांग्रेसका प्रवक्ता चालिसेसँग मधुसुधन भट्टराईले गरेको कुराकानीमा आधारित)