सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीले बढाए सक्रियता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन अध्यक्ष ओलीले सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् ।

अध्यक्ष ओली र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूबिच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुँदैछ । छलफलका लागि संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सबै ११ जना सांसद काठमाडौँ आइपुगेका छन् । बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि समय केही हेरफेर हुन सक्ने एक सांसदले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति पार्टीका सांसदहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै सांसदहरूको एउटा समूहले रावललाई हटाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरूले सहमतिमा नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट भए पनि नयाँ नेता छान्न पाउनुपर्ने अडान अध्यक्ष ओलीसमक्ष राख्ने तयारी गरेका छन् ।

बैठकमा संसदीय दलको नेताको विषयमात्र नभई प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे पनि गम्भीर छलफल हुने बुझिएको छ । हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार छ । पछिल्लो समय एमालेभित्र कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि बढ्दो छ ।

एमाले स्रोतका अनुसार कांग्रेससँगको साझेदारी तोडेर नेपाली कम्युनिस्ट पार्टी (साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल)सँग सत्ता समीकरण बनाउने विषयमा केन्द्रमा पनि संवाद भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ र नेकपाका २२ सांसद छन् । नेकपामा २२ मध्ये एक सांसद निलम्बित छन् । एमाले र नेकपाबिच सहमति जुटेमा नयाँ सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता हिरा सार्कीले संसदीय दलको नेताका विषयमा छलफल हुन लागेको पुष्टि गरे पनि सरकार परिवर्तनबारे भने अहिले नै ठोस निर्णय भइनसकेको बताए । ‘हामी अहिले सरकारमै छौँ र काम गरिरहेका छौँ । केन्द्रले जे निर्णय गर्छ, हामी त्यसैलाई पालना गर्छौं,’ उनले भने । सरकारको सहकार्य टुट्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।