
काठमाडौँ – मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ भने उक्त स्याउ ३ सय ४५ कार्टुनमा राखेर विभिन्न नम्बरका गाडीमार्फत भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा परेका गाडीहरूमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका पिकअप रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी तथा मातहत युनिटबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका स्याउ तथा गाडीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । ।