प्रेम सम्बन्ध लुकाउन श्रीमतीको हत्या गर्ने सैनिक जवानलाई भयो जन्मकैद, तीन लाख रुपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराउन आदेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा , १७ बैशाख २०८३।

सुर्खेत जिल्ला अदालतले अर्को प्रेम सम्बन्ध लुकाउन आफ्नी श्रीमतीको हत्या गरेकोमा एक सैनिक जवानलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको छ।

न्यायाधीश बसन्तराज जोशीको एकल इजलाशले गुर्भाकोट नगरपालिका–५ की प्रेमा वलीको हत्या अभियोगमा उनकै श्रीमान तात्कालिन अवस्थामा नेपाली सेनामा कार्यरत सैनिक जवान दर्शन खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । सोही इजलाशले तीन लाख रुपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराउन पनि तात्कालिन अवस्थामा काभ्रेको वीरदल गणमा कार्यरत सैनिक जवान खत्रीलाई आदेश दिएको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए।

प्राप्त विवरण अनुसार , काभ्रेको वीरदल गणमा कार्यरत सैनिक जवान खत्री घर बिदामा आएका बेला २०८२ साल वैशाख २० गते श्रीमती प्रेमालाई छिन्चु बजार भेट्न बोलाएर जंगलतर्फ लगेको अवस्थामा आपसी विवादका क्रममा ढुंगाले टाउकोमा प्रहार गरी तथा सल प्रयोग गरेर घाँटी कस्दै हत्या गरेको बताइएको छ। त्यसको भोलिपल्ट श्रीमती प्रेमाको शब भेरीगंगा नगरपालिका–१२ स्थित झिगेनारा खोलामा फेला परेको थियो । प्रेमाको ह**त्या*मा संलग्न रहेको पुष्टि भएपछि प्रहरीले खत्रीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।

गुर्भाकोट नगरपालिका–५ निवासी प्रेमा वली र दर्शन खत्रीबीच करिब सात वर्षअघि प्रेम विवाह भएको थियो र उनीहरूकी एक सानी छोरी पनि रहेको उल्लेख गरिएको छ।

सैनिक जीवनकै क्रममा दर्शनले अर्की महिलासँग हिमचिम बढाउन थालेको कुरा प्रेमाले थाहा पाए पछि उनले घरपरिवार हुँदै माइतीसम्म पुर्‍याएपछि हत्यासम्म गर्नु परेको दर्शनले प्रहरीसमक्ष बयान दिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

शुरुमा सोही कुराले दर्शन र प्रेमाबीच सम्बन्ध केही बिग्रेपनि  दर्शनले गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि प्रेमाले माफी दिएको दर्शनले प्रहरीलाई बताएका थिए । ‘तर पुनः  दर्शनले अन्य महिलाहरूसँग सम्बन्ध बनाउने काम नछाडेपछी प्रेमाले घर परिवार माइतीमा भनिदिने भनेपछि प्रेम सम्बन्ध लुकाउन हत्या गरेको दर्शनले बयानमा बताएको सुर्खेत प्रहरीले जनाएको छ।

बारम्बार झगडा हुने गरिरहेको अवस्थामा साँझ घर आइपुगेका दर्शनले माइतीमा रहेकी श्रीमती प्रेमालाई  फोनमा अब यस्तो नगर्ने कसम खाएर  लिन बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।