युवराज सफलले अदालतमा मागे माफी : ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विभिन्न बिषयमा मुद्दा हाल्दै हिड्ने व्यक्तिको रुपमा पहिचान बनाएका युवराज पौडेल भनिने युवराज सफलले काठमाण्डौ जिल्ला अदालतमा माफी मागे पछि अदालतले ५० हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ।

सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका सफलले काठमाण्डौ जिल्ला अदालतमा दिएको बयानको क्रममा आफूबाट गल्ति भएको महसुुस गर्दै माफी मागेका थिए । त्यसपछि जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलाशले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ ।

पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए । थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ । धरौटी बुझाउन नसकेको खण्डमा उनलाई थुनामा पठाउन न्यायाधीशले भनेका छन् ।
पौडेल विरुद्ध नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो । उनले महान्यायाधिवक्ताको मानमर्दन हुने, घृणा र द्वेष फैलाउने खालका भ्रामक भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिन खोजेको सुनेपछि ‘आवेगमा आएर’ बोलेको उनले स्वीकार गरेका छन् । विवादित भिडियोहरू सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी समेत पौडेलले दिएका थिए ।

अदालतले पौडेलको साबिती बयान, उनले व्यक्त गरेको पश्चाताप र कसुरको प्रकृतिलाई मध्यनजर गर्दै तत्काल पुर्पक्षका लागि थुनामा राखिरहनु नपर्ने ठहर गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम अदालतले धरौटी माग गर्ने निर्णय गरेको हो ।

महान्याधिवक्ता सविता भण्डारीलाई लक्षित गर्दै अपशब्द बोलेको आरोपमा सफल माघ १३ गते पक्राउ परेका थिए । महान्यायाधिवक्ताले रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको अपुष्ट आरोप उनले लगाएका थिए । प्रहरीले उनलाई माघ १४ मा हाजिरी जमानीमा छोडेको थियो ।