चितवनका एक युवाको युरोपेली देश माल्टामा निधन भएको छ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८, गुञ्जनगर घर भएका तुल्सीराम तामाङको माल्टामा बुधबार बिहान निधन भएको हो। उनको हृद’यघातका कारण निधन भएको बताइएको छ।
सन् २०२२ को जनवरीमा रोजगारीका लागि माल्टा पुगेका तामाङ बुजिब्बा क्षेत्रमा बसोबास गर्दै आएका थिए र सेन्ट जुलियन्सस्थित एक रेस्टुरेन्टमा कार्यरत थिए।
मृतकका भाइ आसबहादुर तामाङका अनुसार राति एक्कासी स्वास्थ्य अवस्था बिग्रिएको खबर पाएपछि उनी तत्काल भेट्न पुगेका थिए। तर अस्पतालबाट खटिएको चिकित्सक टोलीले आज बिहान नै तुल्सीराम तामाङको निधन भइसकेको जानकारी पाएको मृतकका भाइ आसबहादुर तामाङले बताए ।हाल उनको पार्थिव शरीर माटरदेई अस्पतालको मोर्चरीमा राखिएको छ।
घटनापछि गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद् माल्टाले मृतक परिवारसँग समन्वय गरिसकेको जनाएको छ। परिषद्का अध्यक्ष रोशन गिरीले यस दुःखद घडीमा आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया, आवश्यक कागजात तयारी तथा आर्थिक व्यवस्थापनको काम छिट्टै अघि बढाइने परिषद्ले जनाएको छ।