सिंहदरबार पुन:निर्माण सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुन:निर्माण सुरु गरिएको छ । गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए ।

सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) गणेश कर्माचार्यले यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको सिंहदरबार मुख्य भवनको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुनर्निर्माण सुरु गरिएको जानकारी दिए । पूर्वी, उत्तरी र दक्षिणी मोहडामा मात्र बाहिरी क्षति पुगेकाले अबको दुई महिनाभित्र पुनर्निर्माण सम्पन्न हुने उनले बताए ।उनका अनुसार चालु आर्थिक वर्ष (२०८२/८३) को जेठ मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । यसको पुनर्निर्माणको ठेक्का घिमिरे/बडू (संयुक्त) निर्माण कम्पनीले पाएको हो । सिंहदरबारको मौलिक स्वरूपमा कुनै परिवर्तन नआउने गरी पुनर्निर्माण भइरहेको उहाँले स्पष्ट पारे।

सिंहदरबारको पश्चिमी मोहडा आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भइसकेकाले तत्काल त्यसको अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनपछि पुनर्निर्माण सुरु गरिने उनले बताए । यस मोहडाको निर्माण पनि विशेष प्रकृतिका भएकाले पुनर्निर्माणका लागि अध्ययन भइरहेको उनले स्पष्ट पारे । आगलागीले १२० वर्षभन्दा पुरानो सिंहदरबारको मूल भवनभित्रको ‘स्टेट हल’ पूरै ध्वस्त भएको थियो । ऐतिहासिक र पुरातात्विक महत्वको सो हलभित्र ऐतिहासिक र पुरातात्विक कला, कलात्मक पेन्टिङ तथा ऐतिहासिक किसिमबाट साजसज्जा सङ्गृहीत थियो ।

राणाकालमै अति विशिष्ट विदेशी पाहुनालाई स्टेट हलमा स्वागत गर्नुका साथै विदेशी पाहुना नेपाल आउँदा उनीहरूले दिएका बहुमूल्य उपहार सो हलमै सङ्गृहीत थिए । यसअघि २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोगमार्फत पुरानै स्वरूप नबिग्रिने गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम धान्न सक्ने गरी प्रबलीकरण गरिएको थियो ।

अन्य भवनको पुनर्निर्माण प्रक्रिया 

सिडिई कर्माचार्यले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा रहेका अन्य क्षतिग्रस्त भवनको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । पुलचोक इन्जिनियरिङ कलेजको सहयोगमा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडालगायत अन्य भवनको अध्ययन भइरहेको छ । अध्ययनको विस्तृत प्रतिवेदन तयार भएपछि पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिने उनले बताए ।

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक, युरोपमा विकास भएको ‘नियो क्लासिकल’ शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो ।

प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा युरोपेली शैलीमा सिंहदरबारको निर्माण गर्न लगाएका थिए। वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित पाँचतले भवनका विशेषतः चार वटा महत्वपूर्ण भाग छन् । उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल (टोटल बुल्ट अप एरिया) १२ हजार ४६१.८१ वर्गमिटर रहेको छ।