
पोखरा– आफ्नी माइजुलाई पोखराको बीच बजारमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने युवकसहित उनका सहयोगीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
घटनामा पर्वतको कुश्मा नगरपालिका ११ शिल्मी घर भई पोखरा महानगरपालिका ६ डेरा बस्ने २७ वर्षका सन्तोष भन्ने शिशिर केसी र कास्कीकै पोखरा महानगरपालिका १७ रातोपहिरो बस्ने ३२ वर्षका कुशल परियार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईको कमान्डमा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरिक्षक (एसपी)कै कमान्डमा टोली खटिएको थियो।
प्रहरीले सीसीटीभी फुटेजलगायत प्राविधिक रूपमा अनुसन्धान गर्दै आरोपितको पहिचान गरेको थियो।
यीनिहरुले पोखराको पृथ्वीचोकमा ब्याग, जुत्ता तथा चप्पलको पसल सञ्चालन गर्दै आएकी सृजना पौडेलको हत्या गरेका थिए। उनकी ४ वर्षकी छोरी छन्। उनका पतिको भने तीन बर्षअघि नै मृत्यु भएको थियो।
चैत २५ गते साँझ बीच बजारमै शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी पौडेलको कन्चटमा धारिलो हतियार प्रहार गरी दुईजना फरार भएका थिए।
खुकुरी प्रहारले रन्थनिँदै सडकमै ढलेकी पोखरा–५ की पौडेल केसीको मृत्यु भएको थियो।
कृष्ण केसीले ४ वर्षअघि पौडेललाई बिहे गरेका थिए तर २ वर्षअघि कृष्णको पनि मृत्यु भएको थियो। उनको अहिले ३ वर्षकी छोरी छन्।
विवाह र पतिको मृत्युपछि बढेको पारिवारीक कलह र अंशमुद्दाको विवादले सिर्जनाको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ।
हत्यामा संलग्न भान्जा पटक–पटक लागुऔषध, अभद्र व्यवहारदेखि चोरीसम्मको अभियोगमा यसअघि नै हिरासतमा परेको पनि प्रहरीले पत्ता लगाएको छ।