
चीनका राष्ट्रपति सी जिनपिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली–वनबिच शुक्रबार बेइजिङमा महत्वपूर्ण भेटवार्ता भएको छ। विगत एक दशकमा चिनियाँ भूमिमा ताइवानी विपक्षी नेताको यो पहिलो भ्रमण हो।
भेटका क्रममा राष्ट्रपति सीले १० वर्षपछिको यो भेट दुई पार्टी र ताइवान बिचको सम्बन्ध विकासका लागि निकै महत्वपूर्ण रहेको बताए। सीले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति जस्तो भए पनि चिनियाँ राष्ट्रको पुनरुत्थान र एकताको गति रोकिने छैन।’ उनले अगाडि थपे, ‘सामाजिक प्रणालीमा रहेका भिन्नताहरू अलगावटको बहाना बन्नु हुँदैन।’
राष्ट्रपति सीले ‘ताइवान स्वतन्त्रता’ चाहने शक्तिहरू शान्तिका बाधक रहेको उल्लेख गर्दै सन् १९९२ को सहमतिका आधारमा संवाद अघि बढाउन आफू इच्छुक रहेको बताए।
केएमटी अध्यक्ष चेङले आफ्नो यात्राको मुख्य उद्देश्य ‘शान्तिको बीउ रोप्नु’ रहेको बताइन्। उनले भनिन्, ‘यो यात्राले संसारलाई देखाएको छ कि ताइवानले मात्र एकतर्फी रूपमा शान्ति चाहेको होइन।’ उनले दुवै पक्षले राजनीतिक टकराव त्यागेर युद्धबाट बच्ने बाटो खोज्नुपर्नेमा जोड दिइन्।
ताइपेई विमानस्थलमा समर्थकहरूको ठूलो भीडले चेङको बिदाइ गरेको थियो। तर अर्कोतर्फ कतिपयले यस भ्रमणको विरोध समेत गरेका छन्।
हालै केएमटीले ताइवानको संसदमा विपक्षी ४० अर्ब डलरको रक्षा बजेट रोकेको थियो। सीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी महिना हुने सम्भावित शिखर सम्मेलन अघि भएको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
विज्ञहरूका अनुसार यो भ्रमणले ताइवानको राजनीतिमा केएमटीको प्रभाव बढाउन र सत्तारुढ दललाई सीमान्तकृत गर्न मद्दत पुर्याउन सक्ने अर्थमा लिएका छन्। यद्यपि, ताइवानको राष्ट्रिय चेङ्ची विश्वविद्यालयको सर्वेक्षण अनुसार ८७.८ प्रतिशत मतदाता अझै पनि हालको यथास्थितिकै पक्षमा देखिन्छन्।
चीनले सन् २०२६ मा आफ्नो रक्षा बजेट ७ प्रतिशतले बढाउने घोषणा गरेको थियो। यसबिच भएको यो शान्ति संवादलाई विश्व समुदायले निकै चासोका साथ हेरेको छ। केएमटी अध्यक्ष चेङले जोड दिएर भनिन्, ‘हाम्रो प्रयासले ‘ताइवान स्ट्रेट’ अब द्वन्द्वको केन्द्रबिन्दु र बाहिरी शक्तिको चेसबोर्ड बन्ने छैन।’