रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जना घाइते भएका छन् । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सारांश
- रुपन्देहीमा लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीसँगको झडप र गोली प्रहारबाट एक जना घाइते भएका छन्।
बुटवल । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जना घाइते भएका छन् । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजिएको थियो। तर उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो।
भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गर्दै थप दुई राउन्ड गोली चलाएको जनाएको छ। सोही क्रममा यादव घाइते भएका हुन्।
प्रहरीले घटनास्थलबाट विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी कृष्ण कुमार चन्दले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।