पोखरा महानगरपालिकाको नगर युवा परिषदद्वारा आयोजित डिजिटल साक्षरता (Digital Literacy) कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकाको नगर युवा परिषदद्वारा आयोजित डिजिटल साक्षरता (Digital Literacy) कार्यक्रम आज औपचारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

युवाहरुलाई प्रविधिमैत्री, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रममा कुल २२०० भन्दा बढी विद्यार्थीहरूलाई AI Tools, Digital Safety, Digital Accessibility, साथै Misinformation र Disinformation सम्बन्धी महत्वपूर्ण ज्ञान तथा सीप प्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख धनराज आचार्य को उपस्थिति रहेको थियो भने अध्यक्षता पोखरा महानगरपालिका नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने ले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य विश्नुमाया सुवेदी ले गर्नुभएको थियो। त्यसैगरी, व्यवसाय प्रवर्द्धन शाखा प्रमुख नवराज अधिकारी, कार्यकारी सदस्य कृतन वाग्ले तथा वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बराल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोखराका विभिन्न विद्यालयहरूमा सञ्चालन गरिएको यस कार्यक्रमको विशेषता भनेको पोखराकै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्षकका रूपमा विकास गरी विभिन्न स्थानमा परिचालन गरिएको थियो। यसले युवा नेतृत्व विकाससँगै व्यवहारिक सिकाइलाई पनि सुदृढ बनाएको छ।
यस पहलले युवाहरूलाई डिजिटल दुनियाँमा सुरक्षित, सचेत र प्रभावकारी रूपमा प्रविधिको प्रयोग गर्न प्रेरित गर्नुका साथै डिजिटल सचेतनाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ।