
बिचौलिया दीपक भट्टसँगको मिलेमतोमा नीतिगत अनियमिततामा संलग्न भएको आशंकामा विभागले छानबिन थालेपछि अग्रवाल पक्राउ परेका हुन्।
शुक्रबार विभागले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो। बयान प्रक्रिया नसकिएकाले उनलाई थप अनुसन्धानका लागि ललितपुर प्रहरी हिरासतमा पठाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार विभागको अनुरोधमा उनलाई हिरासतमा राखिएको हो, तर अनुसन्धानसम्बन्धी विस्तृत विवरण प्रहरीसँग उपलब्ध छैन।
यसअघि विभागले शंकर ग्रुपसँग निकट मानिएका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो। उनी विभिन्न कम्पनीका रकम दुरुपयोगमा संलग्न रहेको आरोपमा अनुसन्धानमा छन्।
भट्टले विगतमा शंकर ग्रुपलाई फाइदा पुग्नेगरी नीतिगत निर्णय प्रभावित पारेको आरोप लाग्दै आएको छ। साथै, शंकर ग्रुपको मुख्य लगानी रहेको हिमालयन रि–इन्स्योरेन्समा पनि ठूलो वित्तीय अनियमितताको विषय उठ्दै आएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विभागले पछिल्लो समय गहन अनुसन्धान अघि बढाएको छ। भट्टलाई थुनामै राखेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ भने उनीसँग सम्बन्धित अन्य व्यावसायिक समूहहरूमाथि पनि छानबिन जारी रहेको स्रोतले जनाएको छ।