पोखरा, १५ चैत ।पोखरा महानगरपालिका वडा नं. ८ मा कृषकहरूलाई लक्षित गरी असिना छेक्ने जाली वितरण गरिएको छ। “स्वस्थ जीवनको लागि अर्गानिक खानपान” भन्ने मूल नाराका साथ वडा स्तरीय कृषि सञ्जालले आज कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरेको हो।
वडा स्तरीय कृषि सञ्जालकी अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रूद्रनाथ बराल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले कृषकका समस्याप्रति वडा कार्यालय सधैं सचेत रहेको र कृषि उत्पादन बढाउन यस्ता प्रवद्र्धनात्मक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा पोखरा महानगरपालिका, कृषि विकास महाशाखा प्रमुख मनोहर कडरियाको उपस्थिति रहेको थियो। उहाँले आधुनिक कृषि प्रविधिको प्रयोग र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि महानगरले कृषकहरूलाई विभिन्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा वडा सदस्यहरू लगायत अन्य सरोकारवालाहरूको पनि आतिथ्यता रहेको थियो। पोखरा महानगरपालिका कृषि विकास महाशाखाको सहयोग र वडा नं. ८ को कार्यालयको समन्वयमा सम्पन्न यस कार्यक्रमले स्थानीय कृषकहरूलाई व्यावसायिक कृषिमा थप प्रोत्साहन मिल्ने आयोजकले जनाएको छ।
असिनाबाट बर्सेनि हुने बालीनालीको क्षति कम गर्न जाली प्राप्त गरेपछि स्थानीय कृषकहरूले खुसी व्यक्त गरेका छन्। कार्यक्रम वडा कार्यालयको सभा हलमा सम्पन्न भएको थियो।