प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह (फोटोफिचर)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।

समारोहको वातावरण धार्मिक सांस्कृतिक समिश्रणले भरिएको थियो। सात वटा शंखबाट शंखनाद, १०८ वटुकद्वारा स्वस्तिशान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाद्वारा शुभमंगल पाठ भएको थियो। प्रधानमन्त्रीको शपथमा यस्तो परम्परागत शैली पहिलोपटक देखिएको बताइएको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्चपदस्थ व्यक्तित्व, पूर्वप्रधानमन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

शपथसँगै प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको छ। राष्ट्रपतिले सोही समारोहमा मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए। रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन्।