बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजीनिर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर २ का युवाहरूले बुटवलमा भेला गर्दै सुशासन र युवाहरूको एजेन्डा बोक्ने उम्मेदवार आवश्यक पर्ने कुराको माग गरेका छन् ।

विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २ सय युवाहरूको आज शंकरनगरको बनवाटिकामा भएको भेलामा सहभागीहरूले युवाहरूको मत खेर नजाने तथा युवाका एजेन्डाका साथै मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताएका छन् ।

फरक–फरक पेसामा आबद्ध तर राजनीतिमा सक्रिय नभएका ती युवाहरूको भेलाको संयोजन तथा नेतृत्व व्यवसायी एवं सामाजिक क्षेत्रमा क्रियाशील होविन्द्र कार्की, सुमित गुरुङ, रविन श्रेष्ठ र पुरन रानाले गरेका थिए।

भेलामा विकास निर्माणमा पारदर्शिता, स्वदेशमा नै युवाहरूले गरिखाने वातावरण निर्माण तथा भ्रष्टाचार न्यूनीकरणका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट मनोनयन गरेका उम्मेदवारमध्ये योग्यलाई मत दिन सकिने कुरामा सबै एकमत भएका छन् ।

होविन्द्र कार्कीले आफूहरू कुनै राजनीतिक दलमा आबद्ध नभई विभिन्न पेसा, व्यवसायमा संलग्न बुटवलका युवाहरूको भेलाबाट युवाका एजेन्डा र सुशासन कायम गर्ने उम्मेदवारलाई सहयोग गर्ने स्पष्ट पारे । उनले बुटवलको विकास र वर्तमान आवश्यकताअनुसार युवाहरूले मतदान गर्ने कुरामा सबै एकजुट भएको समेत प्रस्ट्याए ।