पर्साका चारै क्षेत्रमा मुख्य प्रतिस्पर्धा क–कसको ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पर्साका चारै क्षेत्रमा मुख्य प्रतिस्पर्धा क–कसको ?फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा चुनावी चहलपहल बढ्दै गएको छ । निर्वाचन कार्यालयबाट आधिकारिक रूपमा चुनाव चिह्न नपाउँदै दल र स्वतन्त्रबाट दर्ता गराएका उम्मेदवार चुनावलक्षित गतिविधिमा केन्द्रित हुन थालेका छन् ।

छलफल, चुनावी अभियानमा केन्द्रित हुन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ ।

जिल्लाका चारै क्षेत्रमा पुराना दलसहित नयाँ तथा वैकल्पिक दलहरूबाट पनि नयाँ उम्मेदवार खडा भएपछि चुनावी चहलपहल थप रौनक भएको छ । पुराना दलहरूलाई टक्कर दिन चारै क्षेत्रमा नयाँ भनिएका दलहरूबाट उम्मेदवारी परेपछि विभिन्नखाले अड्कलबाजी सुरु भएका छन् । चोक चिया पसलमा पुराना उम्मेदवारलाई नयाँले टक्कर दिने गफ हुन थालेका छन् ।

पर्साका चारै क्षेत्रका लागि १०९ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र–१ मा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य दलहरू नेपाली कांग्रेसबाट अनिलकुमार रुंग्टा, नेकपा एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादवको उम्मेदवारी परेको छ ।

यसअघि यो क्षेत्रबाट जसपा नेपालबाट प्रदीप यादवले चुनाव जितेका थिए । २२ हजार ५ सयभन्दा बढी मतले २०७९ सालको निर्वाचनमा उनले बाजी मारेका थिए । तर यादव यो पटक जसपा नेपाल छाडेर एमालेबाट उम्मेदवार बनेका हुन् ।

त्यसअघि पनि यही क्षेत्रबाट यादव सांसद चुनिएका थिए । ह्याट्रिक गर्न दाउमा रहेका यादवलाई पराजित गर्न कांग्रेसले रुंग्टालाई मैदानमा उतारेको छ । रुंग्टा यसअघि पनि यादवसँग चुनावमा भिडिसकेका व्यक्ति हुन् । जसपा नेपालले भने यो पटक रामनरेश यादवलाई उतारेको छ ।

यही क्षेत्रमा रास्वपाबाट हरि पन्त र जनमतबाट ओमप्रकाशको सर्राफको उम्मेदवारी परेको छ । यो क्षेत्रमा एमालेका यादव, कांग्रेसका रुंग्टा, जसपा नेपालका यादवबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी पर्सा–२ मा ३२ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसबाट अजयकुमार चौरसिया, एमालेबाट रिमा यादवको उम्मेदवारी दर्ता भएको छ । यसअघि ०७९ सालको चुनावमा पूर्वमन्त्री चौरसियाले गठबन्धनका उम्मेदवारलाई ६ हजार मतले पराजित गरेका थिए, उनले २५ हजार बढी मत प्राप्त गरेका थिए ।

उनै चौरसियासँग भिड्न एमालेकी रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशील साह कानु, जनमतबाट श्याम गुप्ता र स्वतन्त्रबाट राजेश्वर साहसहितको उम्मेदवारी दर्ता भएको छ ।
यो क्षेत्र कांग्रेसको गढ भए पनि यो पटक चौरसियालाई अन्य दलहरूले टक्कर दिने देखिन्छ ।

पर्सा–३ मा १९ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसबाट सुरेन्द्र चौधरी र एमालेबाट रुपेश पाण्डेको उम्मेदवारी दर्ता छ । यसैगरी नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया, जनमतबाट माल्ती कुशवाहाको उम्मेदवारी दर्ता भएको छ । यसअघिका निर्वाचनमा यो क्षेत्रबाट एमालेका राजकुमार गुप्ताले चुनाव जितेका थिए ।

तर उनी अहिले भ्रष्टाचारमा मुछिएपछि क्षेत्रमा विरासत फर्काउन एमालेले पाण्डेलाई नयाँ उम्मेदवार बनाएको हो । यसअघिका एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा रहेको यो निर्वाचनमा क्षेत्रमा यो पटक तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नम्बर ४ मा पनि धेरैको संख्यामा उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल र स्वतन्त्रबाट गरी २५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय क्षेत्र नम्बर ४ ले जानकारी दिएको छ । यो क्षेत्रमा कांग्रेसबाट रमेश रिजाल र एमालेबाट जालिम मन्सुरीको उम्मेदवारी दर्ता भएको छ । पूर्वमन्त्री रिजाल ८औं पटक उम्मेदवार बनेका छन् । यसअघि पनि यो क्षेत्र रिजाल र मियाँबिच नै मुख्य प्रतिस्पर्धा भएको थियो ।

२०७९ सालको निर्वाचनमा मियाँलाई रिजालले ५५ सय बढी मतले पराजित गरेका थिए । ३१ हजार बढी मत रिजालको थियो । उनै रिजालसँग पुनः भिडेर एमाले विरासत फर्काउने दाउमा छ । यसअघि यो क्षेत्रमा चौधरीको अत्यधिक भोट रिजाललाई परेको थियो, तर यसपटक भने जसपा नेपालबाट कृपासिज्धु चौधरीको उम्मेदवारी दर्ता भएपछि यो मत बाँडिने आकलन गरिएको छ ।

त्यसैगरी रास्वपाबाट पनि टेकबहादुर शाक्यको नयाँ उम्मेदवारी दर्ता भएकोले पहाडी समुदायको मत बाँडिने देखिन्छ ।