वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले आप्रवासनमा जानेहरुलाई मानवीय दृष्टिले हेरिनुपर्ने बताए । विदेश जानु कुनै अपराध नभएकाले त्यहाँबाट प्राप्त सीप र ज्ञानको सही सदुपयोग गर्नेतर्फ राज्यले सोच्नुपर्ने उनको भनाइ थियो ।

पत्रकार बबिता बस्नेतले वैदेशिक रोजगारका विषयमा मिडियाको दृष्टिकोणबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनको कार्यपत्रमा वैदेशिक रोजगारका विषयमा प्रायः नकारात्मक समाचारलाई प्राथमिकता दिइने गरिएको र सकारात्मक विषयहरु उठान गर्न चुकेको निष्कर्ष थियो ।

पौरखी नेपालका अध्यक्ष सत्राकुमारी गुरुङले विदेशबाट फर्किएपछि समाजमा आफूले सुरुका दिनमा भोगेको मनोवैज्ञानिक विभेद सुनाएकी थिइन् ।

उनले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई समाजले अझै पनि सकारात्मक रुपले नहेर्ने गरेको बताउँदै यही मनोविज्ञानलाई चिर्न पनि संस्थामा आबद्ध भइ अभियान चलाएको प्रष्ट पारिन् । वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र मानव अधिकार सम्पन्न बनाउनुपर्नेमा उनले जाेड दिए ।