अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले अन्तरिक्षमा हजारौं उपग्रह तैनाथ गर्ने योजना सार्वजनिक गरेको छ । एलन मस्कको कम्पनी स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित ब्लु ओरिजिनले ५ हजार ४०८ उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको हो ।
बुधबार सार्वजनिक गरिएको ‘टेरावेभ’ नामक सञ्चार सञ्जाल २०२७ को अन्तिम त्रैमासदेखि चरणबद्ध रूपमा तैनाथ गर्न सुरु गरिने कम्पनीले जनाएको छ ।
ब्लु ओरिजिनका अनुसार टेरावेभ नेटवर्कले पृथ्वीको जुनसुकै स्थानमा पनि प्रति सेकेन्ड ६ टेराबिट्सको गतिमा डेटा उपलब्ध गराउनेछ । अप्टिकल सञ्चार प्रविधिमा आधारित यो इन्टरनेट हाल उपभोक्ताले प्रयोग गरिरहेको सेवाभन्दा धेरै उच्च क्षमताको हुने बताइएको छ । यो सेवा मुख्यतः डाटा सेन्टर, सरकार तथा ठूला संस्थागत प्रयोगकर्ता (इन्टरप्राइज) लक्षित हुनेछ । कम्पनीले यस नेटवर्कमार्फत करिब एक लाख ग्राहकलाई सेवा दिने लक्ष्य लिएको छ ।
यो घोषणा अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्ने विश्वव्यापी दौडसँग पनि जोडिएको छ । कृत्रिम बौद्धिकता (एआई)का लागि आवश्यक विशाल डाटा प्रशोधन पृथ्वीको तुलनामा कम स्रोत प्रयोग गरी अन्तरिक्षमै गर्ने दीर्घकालीन लक्ष्य कम्पनीको रहेको छ ।
यसैबीच, ब्लु ओरिजिनले ‘प्रोजेक्ट कुइपर’ (हाल अमेजन लियो) अन्तर्गत पनि करिब ३ हजार २०० उपग्रहको अर्को नेटवर्क विकास गरिरहेको छ । हाल झन्डै १० हजार उपग्रहसहित एलन मस्कको स्टारलिङ्क यस क्षेत्रमा विश्वकै अग्रणी कम्पनी बनेको छ । स्टारलिङ्कका सेवा १४० भन्दा बढी देशमा फैलिएका छन् भने यसको ग्राहक संख्या ६० लाखभन्दा बढी रहेको बताइन्छ ।
टेरावेभ उपभोक्तामुखी नभई इन्टरप्राइज ग्राहकका लागि विशेष रूपमा डिजाइन गरिएको ब्लु ओरिजिनका सीईओ डेभ लिम्पले स्पष्ट पारेका छन् । टेरावेभको प्रक्षेपणमा ब्लु ओरिजिनको पुनः प्रयोग गर्न सकिने ‘न्यु ग्लेन’ रकेट महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।