प्रतिनिधि सभा निर्वाचन : मोरङ– ३ मा सुनिल शर्मा भेटघाटमा व्यस्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले भेटघाटलाई तीव्रता दिएका छन् ।

डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् ।

यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् ।  निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् ।

स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेलेका छन् भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् ।

एक स्थानीय मतदाताले भने, “उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नुभएको छ। गरिब दुःखीलाई सहयोग गर्ने उहाँजस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन।”

डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उहाँको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन्।