
विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ। उक्त दलका तीनजना केन्द्रीय सदस्यहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी उनीहरूले बुधबार दिएका छन् ।
कुलमानको साथ छोड्नेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । थेगिम उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवार पनि हुन् ।
विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको उल्लेख छ । पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूले बताएका छन् ।
कुलमानले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए ।
ज्ञानबहादुर र अमर नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ बनाउनुपर्ने मागसहित आन्दोलनमा थिए ।
डकेन्द्रसिंहको नाम उज्यालो नेपाल पार्टीको आदिवासी जनजाति क्लस्टरतर्फ तेस्रो नम्बरको समानुपातिक उम्मेदवार सूचीमा समावेश थियो ।
पार्टी परित्यागबारे जानकारी दिँदै उनले पहिचान, धर्म निरपेक्षता, ‘नो कोशी’ र ‘नो केबलकार’ जस्ता मुद्दामा पार्टी स्पष्ट हुन नसकेको गुनासो गरे । उनले यस्ता मुद्दा उठाउने उम्मेदवारलाई आगामी चुनावमा सहयोग गर्ने बताए ।