अस्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्दा ३ जनाको मृत्यु, बन्दुकधारी अझै फरार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको एक सानो सहरमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ। लेक कार्गेलिगो भन्ने स्थानमा स्थानीय समय अनुसार बिहीबार दिउँसो ४:४० बजे भएको यस घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहे पनि स्थिर रहेको बताइएको छ। सिड्नी मर्निङ हेराल्डका अनुसार यो घटना घरेलु हिंसाको परिणाम हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आक्रमणपछि बन्दुकधारी स्थानीय काउन्सिलको गाडी चोरेर फरार भएको दाबी गरिएको छ। फरार अभियुक्तको खोजीका लागि भारी हतियारसहितका विशेष प्रहरी दस्ता परिचालन गरिएको छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न र घटनास्थल वरपरको क्षेत्रमा नजान आग्रह गरेको छ। करिब १ हजार ५०० जनसंख्या भएको यस शान्त सहरमा भएको यो घटनाले स्थानीयबासीलाई त्रसित बनाएको छ।

अस्ट्रेलियामा पछिल्लो समय हिंसात्मक आक्रमणका घटनाहरू बढ्दै गएका छन्। गत महिना मात्र सिड्नीको बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा १५ जनाले ज्यान गुमाएका थिए।