पर्यटनको राजधानीमा पोखरामा भुटानी पर्यटन प्रमुखको उपस्थिति: तालबाराही आरतीमा देखियो धार्मिक सहिष्णुता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालको पर्यटन राजधानी पोखरामा यतिबेला भुटानका पर्यटन संघका प्रमुख कार्यकारी अधिकृत (CEO) कर्मा नाम्गे सपरिवार भ्रमणमा रहेका छन्। यसै सिलसिलामा नाम्गेले पोखराको आध्यात्मिक पहिचानका रूपमा स्थापित माता तालबाराही आरती मा सहभागी भई धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

 

साँझको पावन समयमा आयोजना गरिएको आरतीमा पुग्नुभएका नाम्गेसहितको टोलीलाई तालबाराही आरतीका संस्थापक अध्यक्ष मङ्गल नेपालीले खादा र रुद्राक्षको माला लगाएर भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा भुटानी टोलीले आफैँ आरती पूजामा सरिक भई विधिपूर्वक आरतीको उद्घाटन समेत गरेको थियो।

 

उक्त विशेष आरती कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुखका पीएसओ (PSO) चन्द्र प्रकाश गुरुङ तथा प्रतिष्ठित पर्यटन व्यवसायी विकास पहारी लगायतको उपस्थिति रहेको थियो। भुटानी पाहुनाहरूलाई पोखराको कला, संस्कृति र धार्मिक महत्त्वका बारेमा समेत जानकारी गराइएको थियो।

कार्यक्रमको समापन पछि बोल्दै पर्यटन व्यवसायी विकास पहारीले यस्ता गतिविधिले नेपाल र भुटानबीचको कुटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने बताउनुभयो। पहारीले भन्नुभयो:

यस्तो किसिमको आपसी सहिष्णुता र आत्मीयताले भविष्यमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। यसले पोखराको पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्नेमा कुनै दुई मत छैन।”

भुटान र नेपाल दुवै हिमाली मुलुक र धार्मिक आस्थाले जोडिएका देश भएका कारण यस्ता भ्रमणले धार्मिक पर्यटन (Religious Tourism) को विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।