मिनेसोटा राज्यको राजधानी मिनियापोलिसमा बढ्दो विरोध प्रदर्शनका कारण अमेरिकी रक्षा मन्त्रालयले १ हजार ५०० सक्रिय सेनालाई सम्भावित तैनाथका लागि तयारी अवस्थामा राखेको छ ।
प्रहरी र संघीय अधिकारीहरूलाई सम्भावित तनाव नियन्त्रणका लागि सक्रिय राख्ने निर्णय अझैसम्म अन्तिम रूपले लागु गरिएको छैन । यो महिनाको सुरुमा अध्यागमन तथा भन्सार विभागका एक एजेन्टले सहरमा ३७ वर्षीया महिलाको गोली हानेर हत्या गरेयता मिनेसोटामा अध्यागमन विरोधी जुलुस र प्रदर्शन बढिरहेको छ ।
आवश्यक परे हाल अलस्कामा रहेका सेनालाई मिनेसोटातिर पठाउने निर्णय राष्ट्रपतिस्तरबाट हुने बताइएको छ । यसबारे अहिलेसम्म कुनै निर्णय भइनसकेको आफ्नो अमेरिकी साझेदार सीबीएसले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । यी सेनाहरू फट वेनराइटस्थित ११ औं एयरब्रोन डिभिजनको हिस्सा हो ।
अमेरिकी संघीय न्यायाधीशले रेने गुडको हत्यापछि सहरमा जारी विरोध प्रदर्शनमा भिड नियन्त्रणका अभ्यास सीमित बनाउन आदेश जारी गरेकै समयमा यो खबर आएको हो । गुडको हत्याले अमेरिकामा व्यापक आपत्ति र आक्रोश सिर्जना गरेको छ, यसले देशभर विरोध र ‘आईसीईलाई भगाउ’लगायत नाराबाजी बढेको छ ।
यो घटनाले अमेरिकामा व्यापक राजनीतिक विवाद निम्त्याएको छ । विश्लेषकहरू यसलाई देशभरिका आप्रवासन नीतिको दम्भ र संघीय–स्थानीय शक्ति सन्तुलनको एक प्रमुख मुद्दा मानिरहेका छन् ।