
काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी संकट चुलिँदै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
तनहुँका काफ्ले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानी रकम लगातार बढ्दै जाँदा बोर्ड गम्भीर दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै ठुला सरकारी अस्पतालहरूले सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अस्पतालहरू सेवा रोक्ने तयारीमा रहेको जनाइएको छ।
भुक्तानी अभावकै कारण स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र निरन्तरतामाथि प्रश्न उठ्दै आएका छन्। सेवाग्राहीहरूले पनि समयमा सेवा नपाउने, अस्पतालहरूले बीमाअन्तर्गत उपचार गर्न आनाकानी गर्ने जस्ता समस्या भोग्दै आएका छन्।
निर्देशक काफ्लेको राजीनामासँगै स्वास्थ्य बीमा बोर्डको नेतृत्व रिक्त बनेको छ। बोर्डको वर्तमान अवस्था, भुक्तानी व्यवस्थापन र कार्यक्रम सुधारका विषयमा सरकारको आगामी कदमप्रति चासो बढेको छ।