
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेकपा एमालेले आन्तरिक लोकतन्त्रको अभ्यासबाट आएको नतिजालाई उल्ट्याएको छ । उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दैलेख क्षेत्र नं. २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । जिल्लाबाट उम्मेदवार सिफारिस गर्न भएको क्षेत्रीय कमिटीको मतदानमा शर्माभन्दा रिजाल अगाडि थिए ।
उम्मेदवार छनोटको आन्तरिक प्रतिस्पर्धामा विष्णु रिजालले ६७ मत प्राप्त गर्दै पहिलो नम्बरमा सिफारिस भएका थिए । यता टिकट हात पार्न सफल शर्माले भने ६६ मत पाएका थिए । एक मतले अगाडि रहेर कार्यकर्ताको पहिलो रोजाइमा परेका रिजाललाई केन्द्रले टिकट नदिएपछि दैलेख एमाले वृत्तमा यो निर्णय अर्थपूर्ण रूपमा हेरिएको छ ।