नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।
आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै कृतज्ञ महसुस गरिरहेको बताए । उनले देशैभरि आफूले देखेको न्यानोपन, यहाँका नागरिकको सहनशीलता र उनीहरूमा रहेको भविष्यप्रतिको आशाले आफूलाई प्रभावित पारेको उल्लेख गरे ।
राजदूत थम्पसनले अमेरिका र नेपालबिचको ७९ वर्ष लामो सम्बन्ध र यस अवधिमा हासिल भएको प्रगतिमा आफूलाई गर्व लागेको बताए । उनले भविष्यमा व्यापार, लगानी र नवीन खोजका माध्यमबाट दुई देशबिचको साझेदारी र सम्बन्ध अझ झाँगिँदै जाने विश्वास समेत व्यक्त गरे । अन्त्यमा उनले ‘धन्यवाद नेपाल’ भन्दै नेपाली जनताप्रति सम्मान दर्साएका छन् ।