नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
मध्यविन्दु –११ बाहुन्नेकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधवार महिलाको शव फेला परेको हो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको हो ।
शवको शरीरमा चोटपटक देखिएको हुनाले हत्या भएको आशङ्का जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ‘घटना शङ्कास्पद छ, शरीरका विभिन्न भागमा चोटपटक देखिएको हुनाले हत्या भएको हुनसक्ने आशङ्का छ हामीले अनुसन्धान अगाडि बढाएका छौँ’ खड्काले भन्नुभयो ।
बोराभित्र राखेर नहरमा फालेको अवस्थामा शव फेला परेको हो । बोराभित्र खुट्टा मात्र देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएको छ ।