नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ ।
बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आउनुभएकाे थियाे । तर त्यहाँको क्षेत्रीय कमिटीले अहिलेको अवस्थामा उपाध्यक्ष गोकर्ण विष्टलाई नै अघि सार्ने निर्णय गरेपछि नेतृ झाँक्रीसहितका आकांक्षीले केन्द्रबाट सोही क्षेत्रको लबिङ गर्दै आएका छन् ।
मंगलबार राति एक्कासी उहाँलाई राष्ट्रिय सभामा जानका लागि पार्टी हेड क्वाटरबाट प्रस्ताव आएको हो । त्यसअघि बाँकेकी शान्ता ढकालको नाम आएको थियो । तर अन्तिम समयमा नेतृ झाँक्रीको नाम आएको जनाइएकाे छ।